सुधारवादी आन्दोलनका नेता मार्टिन लूथर (जीवनी)

Martin Luther-1
लाेकपाटी न्यूज

इसाई जगतमा एउटा यस्तो हलचल उत्पन्न गर्ने मानिस लूथर, जसको प्रभाव आजसम्म मेटिएको छैन । उनी सन् १५०५ मा कानूनका विद्यार्थी थिए । योभन्दा पहिलै उनले मास्टरको डिग्री हासिल गरिसकेका थिए र आफ्ना वरिपरिका मानिसमा आफ्नो गहन अध्ययनको कारण उनको धाक जमिसकेको थियो । नोभेम्बर १४८३ मा जन्मदेखि नै धार्मिक वातावरणमा हुर्किएको कारणले उनी त्यस्तै विचारका भएका थिए र आत्माको मुक्तिलाई आफ्नो चरम लक्ष्य मान्न थालेका थिए ।

१५०५ को जुलाईमा एक दिन उनी जर्मनीमा आफ्नो घर मेन्स फील्डबाट अरफर्टतिर फर्किरहेका थिए, जहाँ उनी पढ्थे । मृत्युको डरले युवक लूथरले दुनियाँदारी छोडेर साधु बन्ने प्रतिज्ञा गरे । घरपरिवार र साथीको अनुनय विनयको वास्ता नगरी उनी १७ जुलाईमा साधुको एउटा मठमा भर्ति भए । आगस्टीनियन साधुहरुको यो मठमा कठिन नियमको पालना गरिन्थ्यो । लूथर पनि कठिन जपतप गरेर राम्रो साधुहरुमा गनिन थाले । १५०५ मा उनी पादरी बने । तर, लूथरको भनाइ छ कि यो कठिन तपले उनको आत्मालाई कुनै फाइदा पुगेन ।

१५१७ मा लूथर वितनबरा यूनिभर्सिटीमा प्रोफेसर थिए । यो बेला उनी चौतीस वर्षमा पुगेका थिए । यो बेलासम्ममा उनी एकपटक (१५१०) मा ईसाई धर्मको केन्द्र रोम पनि आएका थिए । त्यहाँ उनले ईसाई धर्मका ठेकेदारमा आएको नराम्रोपना देखेका थिए, त्यही ईसाई धर्मका केही प्रचलित सिद्धान्तमा उनको मतभेद भएको थियो । अब उनी आप्mनो लेक्चरमा धर्म सुधारको कुरा गर्न थालेका थिए । तर, उनको इच्छा रोमका पोपसँग आफ्नो सम्बन्ध तोड्ने थिएन ।

त्यो बेला ईसाई धर्माधीश सादगी र पवित्र जीवनको सिद्धान्तलाई मान्थे तर त्यसमा चल्दैनथे । उनीहरुले धर्मलाई पाखण्ड र मठलाई व्यभिचारको अड्डा बनाएका थिए । धर्मले सिधा साधा जनतालाई शोषणको साधन बनाएको थियो । पोपपन्थी जनतालाई लुट्नका लागि नयाँ–नयाँ साधन निकालिरहन्थे । मुक्तिको खोजीमा जनता पनि उनको बहकाउमा आउँथे । यसै प्रकारको एउटा पाखण्ड स्वर्गमा सीट रिजर्व हुने प्रमाणपत्र थियो, जुन पोपको प्रतिनिधिले जनतामा बेच्ने गर्थे । मानिसहरुलाई भनिने गरिन्थ्यो कि यदि तिमी यो प्रमाणपत्र किन्छौ भने तिमी नर्कको कष्टबाट बच्ने छौ । यति मात्र होइन, एउटा यस्तो प्रमाणपत्र पनि चलाइएको थियो, जसलाई किन्यो भने पूर्खाको आत्मा पनि स्वर्गमा पुर्याउने छ ।

सन् १५१५–१७ मा पोपले यी प्रमाण पत्र बेच्ने विशेष योजना बनाएका थिए । यो योजनाद्वारा धेरै धन जम्मा हुन थाल्यो । लूथरले यस प्रथाको विरुद्धमा पञ्चानब्बे सिद्धान्तको एउटा लेख लेखेर वितनबराको गिर्जाको ढोकामा टाँसिदिए । उनको भनाइ थियो, पोपलाई भगवानको प्रतिनिधिको रुपमा मानिसको अपराध माफ गर्ने कुनै अधिकार छैन । पोपले केवल आपूmले दण्डित गरेको मानिसलाई क्षमा गर्न सक्छ ।

यो घटनाले सारा ईसाई जगतमा एउटा नयाँ हलचलको सुत्रपात भयो । यस विषयमा लम्बाचौडा वादविवाद हुन थाल्यो । सुरुसुरुमा त रोमका पोपले यस कुरामा दखल दिनु ठीक ठानेनन्, किनकि उनको विचारमा यो सानो कुरा थियो । एउटा सानो आगोको भिल्का केही क्षणमा आफैं निभ्ने छ भन्ने पोपले सोचेका थिए । तर, कुरा वास्तवमा सानो थिएन ।

मानिसहरुको अवचेतन भावना अकस्मात लूथरद्वारा व्यक्त भएको थियो । सारा युरोप लूथरको पञ्चानब्बे सिद्धान्तमा बहस गर्न थाल्यो । आखिरमा पोपले आफ्नो घोषणा निकाले । उनले लूथरको केही सिद्धान्तलाई गलत ठहराए र आदेश दिए, ‘यदि लूथरले आफ्नो सिद्धान्त साठी दिनमा फिर्ता लिएनन् भने उनलाई धर्मच्युत गरिनेछ ।’

यसको जवाफमा लूथरले त्यो आदेशलाई जलाई दिए । पोपको आदेशको अवहेलनाले जनतामा एउटा नयाँ जोश उत्पन्न भयो । सुधारको काम नियमित रुपले चालु भयो । लूथर यो सुधार आन्दोलनका सर्वमान्य नेता थिए । तर यी नेतासँग कुनै बहुदर्शी योजना थिएन । उनलाई यो पनि थाहा थिएन कि उनको सुधार आन्दोलनले बढ्दैबढ्दै कस्तो रुप लिने छ, पोपपन्थको कुन–कुन प्रथाको विरुद्धमा उनले प्रहार गर्नेछन् । फेरि पनि धेरै वर्षसम्म पूरा यूरोपका प्रगतिशील जनताको नेता उनी बनिरहे, यसको कारण थियो उनको व्यक्तित्व ।

लूथरलाई सुरक्षाको ग्यारेन्टी दिएर उनलाई डाइटको अगाडि उपस्थित हुनका लागि बोलाइयो । डाइट जर्मनीका साना–साना राजाहरुको सभालाई भनिन्छ, जसको प्रधान सम्राट हुन्थ्यो । यस डाइटले लूथरको सिद्धान्तलाई पाप बतायो र उनलाई आफ्नो सिद्धान्त फिर्ता लिने आज्ञा दियो । लूथरले आप्mनो आत्मा विरुद्ध काम गर्नु अपमानजनक र भयानक हो भनेर यो प्रस्ताव अस्वीकार गरे । फलस्वरुप उनलाई विद्रोही ठहर्याएर मृत्युदण्ड दिने प्रस्ताव राखियो । तर, उनलाई सुरक्षाको ग्यारेन्टी दिएको कारण यो सम्भव थिएन ।

उनी सम्राटका सैनिक दस्ताको रेखदेखमा आप्नो स्थानमा फर्किन थाले । तर, बाटोमा उनी कतै हराए । मानिसहरुले सम्झे गुप्त रुपमा उनको हत्या गरियो । यो समाचारले पोपपन्थीहरुको विरुद्धमा जनताको आक्रोश बढ्दै गयो र सुधार आन्दोलनलाई धेरै सहायता मिल्यो ।

वास्तवमा लूथरलाई मारिएको थिएन । लूथरका साथी र अनुयायी राजा फ्रेडरिकले उनको ज्यानलाई खतरा हुने देखेर उनलाई गायब बनाएका थिए । उनले आफ्नो किल्लामा गुप्त रुपले राखेका थिए । यो किल्लामा लूथर एक वर्षसम्म बसे । यो एक वर्षमा लूथरलाई लेख्न, पढ्न र आफ्नो सिद्धान्तमा सोच्नमा धेरै समय पाए । यिनै दिनमा उनले बाइबलको ग्रीक टेस्टामेन्टको जर्मनमा अनुवाद गरे र पोपपन्थमा आएको नराम्रा कुराको बारेमा सोचे र लेखे ।

उनी पोप र पादरीको दैवी शक्तिमा विश्वास गर्दैनथे । उनको अनुसार सबै सच्चा भक्त पादरी हो । उनी पादरीलाई विवाह गर्ने अधिकार दिन्थे र मठको कठिन तपको विरुद्धमा थिए । उनको भनाइ थियो यदि कठिन तपले कसैले मुक्ति पाउँछ भने उनी त्यसको सबैभन्दा पहिलो हकदार हुन्, किनकि आफ्नो मठमा सबैभन्दा धेरै तप गर्ने उनै हुन् ।

यस बीचमा उनको सिद्धान्तको कारण सारा युरोप दुई दलमा बाँडिदै गइरहेको थियो । अनेकौं राजाले लूथरलाई साथ दिए र उनीहरुसँग सम्मिलित शक्तिको अगाडि युरोपको ठूलोभन्दा ठूलो शक्ति पनि रोकिन सक्दैनथ्यो । आपूmलाई सुरक्षित सम्झेर लूथर फेरि खुल्ला मैदानमा आएका थिए । आर्कड्यूक फर्डिनेण्डले आफ्ना भाइ सम्राट पाँचौं चाल्र्ससँग एकपटक भनेका थिए, “लूथरको सिद्धान्तले यति गहिरो पकड जमाएको छ कि हजारमा एक मानिस पनि यस्तो छैन, जो उनको प्रभावबाट बचेको होस् ।”

१५२५ मा लूथरको सिद्धान्तबाट जाग्रित भएर किसानले सामन्तशाहीको विरुद्धमा विद्रोह गरे । यो विद्रोहको मुख्य कारण आर्थिक थियो । तर, लूथरको क्रान्तिकारी आन्दोलनले किसानहरुलाई धेरै उत्साह मिलेको थियो र उनीहरु लुथरले सहायता गर्नेछन् भन्ने आशा गर्थे । सुरुवातमा लूथरले किसान र सामन्त दुवैलाई नराम्रो भनिरहे । तर, विद्रोह सुरु भएपछि उनले सामन्तको पक्ष लिए । उनी किसानलाई कुकुरको मृत्युको अधिकार भन्न थाले । उनको यो परिवर्तनको कारण सायद आफ्नो सिद्धान्तको लागि सामन्तबाट मिल्ने सहायता थियो । जे–होस्, गरीब किसानसँग लूथरको यो व्यवहारलाई उचित मान्न सकिँदैन । विद्रोह असफल भएपछि सामन्तले किसानलाई घोर दमन गर्दा पनि त्यसको विरोधमा लूथरले केही भनेनन् ।

यसै प्रकार १५४० मा आफ्नो समर्थक शक्तिशाली राजा फिलिपलाई दोस्रो विवाह गर्नका लागि गुप्त अनुमति दिएर पनि लूथरले आफ्नो कमजोरी देखाए । ईसाई मतअनुसार एउटी पत्नी हुँदाहुँदै दोस्रो विवाह गर्नु अनुचित हो । तर, फिलिप दोस्रो विवाह गर्न चाहन्थे । फिलिप सुरुदेखि नै लूथरलाई उनको सिद्धान्तको प्रचारमा धेरै सहायता दिइरहेका थिए । लूथरले उनको दोस्रो विवाहको अनुमति पत्रमा गुप्त रुपले दस्तखत गरिदिएका थिए । यो कुरा धेरै दिन लुक्न सकेन । भेद खुलेपछि लूथरको धेरै बदनामी भयो । आफ्नो पक्षमा उनले जुन सफाइ दिए, त्यो उनको चरित्रमा लागेको यो धब्बालाई धुनका लागि पर्याप्त थिएन ।

लूथरले आफ्नो विवाह १५२५ मा गरेका थिए । जस्तो पहिला पनि भनिसकिएको छ, उनी पादरीलाई विवाह गर्ने अनुमति दिन्थे । उनको भनाइ थियो, उनी आफंै विवाह गर्ने छैनन्, किनकि उनले मठमा आजन्म ब्रह्मचारी बस्ने व्रत लिएका थिए । तर, विवाहित पादरीलाई पोपद्वारा दण्ड दिँदा पनि केथराइन वान बोरा नामकी एक साध्वीसँग उनले विवाह गरे ।

१५२६ देखि सुधारवादी आन्दोलन राजनीतिमा उल्झाउँदै गयो, यसले आन्दोलनलाई चलाउने नेतृत्व सामन्तको हातमा जान थाल्यो । लूथर केवल आध्यात्मिक नेता बने । १५२६ को डाइटले लूथरको सिद्धान्तप्रति सहिष्णुताको प्रस्ताव पास गरे । १५२९ मा पोपपन्थी दलको शक्ति बढ्यो । लूथरलाई विद्रोही भनियो । लूथरको समर्थक राजाहरुले यसको विरोध गरे । यसै बेला लूथरका अनुयायीको नाम प्रोटेस्टेन्ट अर्थात् विरोध गर्नेहरु बन्यो ।

युद्धको तयारी हुन थालेको थियो र धेरै वर्षसम्म विरोधी सेनाहरु आपसमा लडिरहे । यो युद्ध सधैं लगातार हुँदैनथ्यो । जबसम्म धार्मिक सहिष्णुताको युग आएन यी युद्ध र सङ्घर्षले यूरोपमा धेरै रक्तपात भयो । यसपछि लूथरले बाइबलको नयाँ र पुरानो टेस्टामेन्ट फेरि अनुवाद गरे । यदि लूथर सुधारवादी आन्दोलनका नेता नभएर धार्मिक पुस्तकका अनुवादक र लेखक मात्र भएका भए पनि आफ्नै देशको लागि उनको ठूलो उपकार हुने थियो ।

१८ फेब्रुवरी, १५४६ मा आफ्नो जन्म स्थानमा लूथरको देहान्त भयो । यो बेला उनको उमेर ६३ वर्षको थियो । अन्तिम समयमा कसैले उनलाई सोध्यो, “के तपाईं अझै पनि आफ्नो सिद्धान्तमा विश्वास राख्नुहुन्छ ?” यो प्रश्नको जवाफमा उनले, “हो म राख्छु ।” भन्दै प्राण छोडे । त्यहाँबाट उनको शव राजसी र सैनिक आदरका साथ वितनबरा लगियो र त्यही चर्चमा गाडियो, जहाँ उनले आफ्नो पञ्चानब्बे सिद्धान्त टाँसेर सुधारवादी आन्दोलनको श्रीगणेश गरेका थिए ।

ईसा मसीहबाट पन्ध्रौं शताब्दीसम्म ईसाई धर्ममा जुन परिवर्तन आएको थियो र रोमका क्याथोलिक चर्चको जुन अवनति भएको थियो, लूथरको सुधारवादी आन्दोलन त्यसको विरुद्धमा थियो । पहिला लूथरले आफ्नो प्रचार कार्य ल्याटिन भाषामा सुरु गरेका थिए । तर, जबसम्म उनले ल्याटिनको त्याग गरेर आफ्नो देशका जनताको जर्मनको भाषा उपयोगमा लिएनन्, तबसम्म उनको काम अगाडि बढ्न सकेन । किसान विद्रोहको समयदेखि उनको सुधार आन्दोलन जनताका लागि नभएर राजा महाराजाका लागि भएको थियो ।

मूल रुपले प्रोटेस्टेन्ट मत शुरुवाती ईसाइवादतिर फर्किने मत थियो । उनको अनुसार धार्मिक अधिकारीहरुलाई राजनीतिमा भाग लिनदिनु हँुदैन । तर प्रोटेस्टेन्ट मतको प्रभावमा राजाहरुको सहायता लिनुको परिणाम प्रोटेस्टेन्ट धर्म देशमा सरकारको अधीन भयो । गिर्जा र मठको जागिरमा कब्जा जमाउनका लागि राजा र सामन्त प्रोटेस्टेन्ट मतलाई साथ दिन थाले ।

अन्तमा यो सुधार आन्दोलन सिद्धान्तको सङ्घर्ष नरहेर रोमका पोपको आधिपत्यको विरुद्धको सङ्घर्ष बन्यो, जसले उक्साउँदा हर देशको उठ्दो राष्ट्रिय भावनाले पनि पूरा योगदान दियो । सुधार आन्दोलनले मानिसको वैचारिक स्वतन्त्रतालाई बढावा दियो । केही कालमा सुधारवादी पनि वैज्ञानिक प्रगतिको त्यति नै विरोध गर्न थाले, जति पोपपन्थी गर्थे ।

फेरि पनि युरोपको प्रगतिमा लूथरको धेरै ठूलो हात छ । सुधार आन्दोलनले पोपको बढ्दो राजनीतिक शक्तिमा रोक लगाएर विभिन्न देशलाई प्रगति गर्ने अवसर दिए । उनको शक्तिदेखि डराएर पोपपन्थीहरुले आपूmमा आएको खराबी हटाउने प्रयत्न गरे । सारा यूरोपमा यस्तो परिवर्तन भइरहेको थियो, जसबाट समाज मध्य युगबाट निस्केर आधुनिक युगमा प्रवेश गरिरहेका थियो । लूथरको आन्दोलनले यो सामाजिक परिवर्तनमा धेरै योगदान दियो ।