२०१८ का १० अन्तर्राष्ट्रिय व्यक्ति : सर्वाधिक चर्चामा को-को ?

लाेकपाटी न्यूज

काठमाडौं । सन् २०१८ केहि‍‍ अन्तर्राष्ट्रिय व्यक्तिहरुका लागि शुभ रह्यो भने केहिका लागि अशुभ रह्यो । केहि व्यक्तिहरु विभिन्न कारयाले चर्चामा रहे यस्ता केहि व्यक्तित्वहरुका बारेमा जानौँ ।

१‍‌‍‍. ‍जमाल खसोग्गी

जमाल खसोग्गी साउदी अरबका चर्चित पत्रकार हुन् । पत्रकार खसोग्गीको २ अक्टोबरमा हत्या भएको थियो । दोस्रो विवाहका लागि कागजात मिलाउन टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास गएका बेला उनको हत्या भएको थियो ।

खसोग्गीको हत्यापछि उनकै भेष धारण गरेर दूतावासबाट एक व्याक्ति निस्किएका थिए । यसकारण उनको हत्या योजनाबद्ध रुपमा भएको टर्कीको दाबी छ । तर, उनको शव हालसम्म फेला पर्न सकेको छैन भने हत्या कसले र किन गर्यो भन्ने खुल्न सकेको छैन । प्रमाण नष्ट गर्न उनको शवलाई टुक्रा–टुक्रा पारेर एसिडमा घोलिएको टर्की सरकारको दाबी छ । टर्कीले हत्यामा साउदी राजपरिवारकै संलग्नता रहेको आरोप लगाउँदै आएको छ ।

२‍‌. हार्भे वेन्स्टेइन

हार्भे वेन्स्टेइन हलिउड फिल्म निर्माता हुनर । उनीविरुद्ध सामाजिक सञ्जालमा मी टु अभियान चलेपछि उनी चर्चामा आए । सर्वप्रथम हलिउड अभिनेत्री एलिसा मिलानोले उनीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै मी टु ह्यासट्याग प्रयोग गरेकी थिइन् । मिलानोले यस अभियानको सुरुवात गरेपछि दर्जनौँ महिलाले आफूमाथि पनि हार्भेले यौन दुव्र्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा ह्यासट्याग ‘मी टु’ प्रयोग गरेका थिए ।

तर, उनको गिरफ्तारी भने २५ मे २०१८ मा मात्र भएको थियो । त्यो दिन दुई महिलाले आफूमाथि बलात्कार, यौन अपराध र दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । लगत्तै, वेन्स्टेइनले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

३. इमरान खान

इमरान खानको जन्म पाकिसतानमा भयो । उनले सन् १९९६ मा पाकिस्तान तारिक ए इन्साफ दलको स्थापना गरे । उनको दलले नेसनल एसेम्ब्लीको ३ सय ४२ मध्ये १ सय ५६ सिट जित्यो र अन्य साना दलको समर्थनमा उनी २२औँ प्रधानमन्त्रीमा निर्वाचित भए ।

प्रधानमन्त्री निर्वाचित भएलगत्तै खानले ‘नयाँ पाकिस्तान’को नारा ल्याएका थिए । उनी विश्वविजेता पाकिस्तानी क्रिकेट टिमका कप्तान थिए । उनको नेतृत्वमा पाकिस्तानले सन् १९९२ को विश्वकप क्रिकेट जितेको थियो । पाकिस्तानका लागि उनले ८८ टेस्ट खेलेर ६ शतकसहित तीन हजार आठ सय सात रन बनाएका छन् । त्यस्तै, एक सय ७५ एकदिवसीय खेल्दै एक शतकसहित तीन हजार सात सय नौ रन बनाएका छन् ।

४. लुका मोड्रिक

लुका मोड्रिक क्रोएसियाका फुटबल खेलाडी हुन् । सन् २००९ देखि २०१७ सम्म फिफा वर्ष खेलाडीमा पोर्चुगलका रोनाल्डो र अर्जेन्टिनाका मेसीबीच मात्र उपाधि बाँडफाँड भयो । ब्राजिलका नेमार, इंग्ल्यान्डका ह्यारी केन तथा उरुग्वेका लुइस सुआरेजले चुनौती दिए पनि सफल भएनन् । लामो समयपछि क्रोएसियाका लुका मोड्रिकले उनीहरूको दबदबा तोड्दै सन् २०१८ को फिफा वर्ष खेलाडी घोषित भए ।

उनले विश्वकपमा क्रोएसियालाई पहिलोपटक फाइनल पुर्याउनुका साथै रियल म्याड्रिडलाई लगातार तेस्रोपटक युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग जिताएका थिए ।

विश्वकपमा उत्कृष्ट खेलाडी घोषित हुँदै उनले गोल्डेन बल पाएका थिए । उनको बाल्यकाल शरणार्थी क्याम्पमा बितेको थियो । उनले गोल्डेन बल जितेपछि उनको बाल्यकालबारे मिडियामा निकै चर्चा भएको थियो ।

५. मेङ वाङझोउ

मेङ वाङझोउ चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख हुन् । वाङझोउ क्यानडामा पक्राउ परेपछि अमेरिका र चीनको सम्बन्ध बिग्रियो । उनी हुवावेका संस्थापक रेन झेनजिफीकी छोरी हुन् ।

हुवावेले इरानमाथिको अमेरिकी नाकाबन्दी अवज्ञा गरेको भन्दै अमेरिकी अधिकारीको आग्रहमा क्यानडाको प्रहरीले उनलाई पक्राउ गरेका थियो । क्यानडाको भ्यानकुभरमा एउटा विमानबाट अर्कोमा चढ्ने क्रममा मेङ पक्राउ परेकी थिइन् । उनको पक्राउले मानवअधिकारको गम्भीर उल्लंघन भएको र अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी चीनले दिएको थियो ।

१ डिसेम्बरमा पक्राउ परेकी उनी डेढ सातापछि धरौटीमा रिहा भइन् । क्यानडाको अदालतले मेङसँग ७५ लाख अमेरिकी डलर जमानत माग गरेको थियो । उनको पासपोर्ट पनि क्यानडेली सरकारलाई बुझाउन निर्देशन दिइएको छ ।

६. भ्लादिमिर पुटिन

भ्लादिमिर पुटिन रुसका राष्ट्रपति हुन् । फोब्र्स म्याग्याजिनले पुटिनलाई सन् २०१८ को विश्वकै सर्वाधिक शक्तिशाली व्यक्ति घोषणा गरेपछि उनी निकै चर्चामा आए । उनी यही वर्षको सुरुमा भएको निर्वाचनमा विजयी भएका थिए । निर्वाचनअघि उनलाई कडा टक्कर दिने अनुमान गरिएका नेता एलेक्सेई नाभाल्नीलाई त्यहाँको निर्वाचन आयोगले उम्मेदवार बन्न नै प्रतिबन्ध लगाएको थियो । ६५ वर्षीय पुटिन १८ वर्षदेखि निरन्तर रसियाको नेतृत्वमा छन् ।

सैनिक परिचालन गरी क्रिमियालाई नियन्त्रणमा लिएपछि युरोपका अन्य शक्तिशाली देश र अमेरिकासँग उनको टसल परेको थियो । तर, उनले क्रिमियाबाट सेना फिर्ता गर्न अस्वीकार गरे । उनी जुडो र क्योकुसिनका खेलाडी पनि हुन् ।

७. कार्लोस गोन

जापानको अटो कम्पनी निसानका अध्यक्ष हुन् कार्लोस गोन । उनी आर्थिक अनियमितताको आरोपमा पक्राउ परेपछि उनको कम्पनी घाटामा गयो । उनले फ्रान्सेली कम्पनी रेनोसँग साझेदारी मात्र गरेनन् कि अर्को ठूलो कम्पनी मित्सुबिसीलाई पनि गाभे ।

उनले अटोको सबैभन्दा ठूलो साझेदार कम्पनी बनाए तर, कम्पनीको सम्पत्ति दुरुपयोग गरेको र आफ्नो तलब कम देखाएको आरोपमा उनी १९ नोभेम्बरमा पक्राउ परे । उनको पक्राउले विश्वलाई नै अचम्मित बनाएको थियो । उनलाई प्रहरीले टोकियोस्थित हिरासतमा राखेको छ ।

८. एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर

एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर मेक्सिकोका राष्ट्रपति हुन् । उनी छिमेकी देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको आक्रामक भाषणले निकै चर्चामा आए । उनी यही वर्ष मेक्सिकोको राष्ट्रपति निर्वाचित भएका थिए ।

अमेरिका र मेक्सिको सीमामा पर्खाल लगाउने विषय उछालेर मेक्सिकन जनताको अपमान गरेको भन्दै उनले डोनाल्ड ट्रम्पलाई ‘सैतान’को संज्ञा दिदैँ उनका बारे बोलेका थिए । उनले अमेरिकालाई हिटलरको जर्मनीसँग तुलना गरेका थिए । उनी निर्वाचनमा विजयी भएपछि ट्रम्पले भने ट्विटरमार्फत बधाई दिएका थिए । ओब्राडोर यसअघि मेक्सिकन सिटीका मेयर पनि भएका थिए । त्यतिवेला उनले सरकारी कर्मचारीको तलब कटौती, नयाँ सार्वजनिक विश्वविद्यालयको स्थापनालगायत सुधारका काम गरेर लोकप्रियता हासिल गरेका थिए ।

९. मैत्रिपाला सिरसेना

संसद्बाट निर्वाचित प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरेपछि श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरसेना विवादमा फसेका थिए । विक्रमासिंघेलाई बर्खास्त गरेर उनले आफ्ना राष्ट्रपतिका प्रत्यासी तथा पूर्वराष्ट्रपति महेन्द्रा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । त्यसलगत्तै राष्ट्रपतिको संसद् र अदालतसँग पनि शक्ति संघर्ष चलेको थियो ।

सिरसेनाले संसद् नै विघटन गरिदिए । तर, अदालतले त्यसलाई अवैधानिक ठहर गर्यो । उता, राजापाक्षेले संसदमा बहुमत सिद्ध गर्न सकेनन् । सिरसेनालाई आफ्नै दलका कतिपय सांसदले साथ दिएनन् । संसद्बाट विक्रमासिंघे पुनः प्रधानमन्त्री निर्वाचित भएपछि सिरसेनाले दोस्रोपटक शपथ गराएका थिए ।

१०. मेगन मर्कल

मेगन मर्कल हलिउडकी चर्चित नायिका हुन् । मर्कल बेलायती राजकुमार ह्यारीसँग गत मेमा विवाह गरेर राजपरिवारकी सदस्य भएकी छिन् । ह्यारीसँग उनको दोस्रो बिहे हो । यसअघि उनले सन् २०११ मा फिल्म निर्माता ट्रिभोर इंगलसनसँग बिहे गरेकी थिइन् । बिहे गरेको दुई वर्षमा नै उनीहरू छुट्टिएका थिए ।

अमेरिकाको क्यालिफोर्नियामा हुर्केकी उनी क्यानडाको टोरन्टो बस्थिन् । उनी पहिलोपटक ६ मे २०१७ मा ह्यारीसँग देखिएकी थिइन् । वर्कसाइरमा ह्यारी पोलो खेलिरहँदा मेगन सँगै थिइन् । सन् २०१७ मा भेनिटी फेयर म्यागेजिनलाई दिएको अन्तर्वार्तामा मेगनले ह्यारीसँग गहिरो प्रेममा परेको खुलासा गरेकी हुन् ।