महामहिमको बिदाइ : को हुन् अञ्जान शाक्य ?

49730723_236518107275065_1471916903298498560_n
  • 89
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २१ पौष । नेपाल चेम्बर अफ कमर्सको वुमन बिङ्का रुपमा रहेको नेपाल महिला चेम्बरले इजराइलका लागि नेपाली राजदूतमा नियुक्त भएकी राजदूत डा. अञ्जान शाक्यलाई नेपाल सरकारले दिएको जिम्मेवारीका लागि शुभकामना टक्राउदै हार्दिक बधाई तथा बिदाइ समारोहको आयोजना गरेको छ ।

डा. शाक्यको बिदाइपछि महिला चेम्बरको नेतृत्व उर्मिला श्रेष्ठलाई दिइएको छ । परराष्ट्र मामिलामा सक्रिय शाक्यलाई बिदाइका सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षद्धय दीपक मल्होत्रा र कमलेश कुमार अग्रवालले महिला चेम्बरमा नयाँ सक्रिय महिलाहरुलाई सदस्यता प्रदान गरेका थिए ।

कार्यक्रम डा. अञ्जानका बुबा डिल्लीरत्न शाक्यलाई समेत सम्मान गरिएको थियो । उक्त बिशेष समारोहमाझ बोल्दै नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजदुत नियुक्त भएकोमा डा. शाक्यलाई बधाइ दिँदै उनको कार्यकालमा नेपाल–इजरायल बीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बन्नेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा वुमन च्याम्बरका नवनियुक्त अध्यक्ष उर्मिला श्रेष्ठ र उपाध्यक्ष सुश्मा शर्माले डा. शाक्यको कार्यकाल निकै सफल र सौहार्दपूर्ण रहेको स्मरण गर्दै सरकारले उनलाई सुम्पेको नयाँ कार्यभारसमेत सफल रहने विश्वास ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राजदूत शाक्यले आफ्नो कार्यकालमा नेपाल इजरायल सम्बन्धलाई सुमधुर बनाउन प्रयत्नशील रहने बताउँदै दुई देशबीच ब्यापार, संस्कृति, कृषि र प्रविधिका क्षेत्रमा समन्वय गर्ने बताइन् ।

को हुन् डा. शाक्य ?

इजरालयका लागि नेपाली राजदूतमा नियुक्त भएकी शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधि गरेकी छन् । शाक्यसँग परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ । साथै, उनले अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरेकी छिन् ।

उनले ‘नेपाल चाइना रिलेशन’, ‘नेपाल इण्डिया रिलेशनल’लगायत पुस्तकको सम्पादनसमेत गरेकी छिन् । शाक्यसँग लामो समय पद्मकन्या कलेजमा प्राध्यापन गरेको अनुभवसमेत छ । शाक्य चर्चित गायिका समेत हुन् । उनले ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ बोलको गीत चर्चित छ । उनी नेपाल टेलिभिजनकी समाचार प्रस्तोता समेत हुन् ।

पिताकै गन्तव्यमा श्रेष्ठ

सफल नेपाली महिलाहरुमध्ये औंलामा गन्न सकिने नाम हो उर्मिला श्रेष्ठ । कुशल उद्यमी एवं ब्यवस्थापकमध्येकी एक उनी साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

स्व. ईश्वरलाल श्रेष्ठकी सुपुत्री उर्मिला आफ्ना पिताले कोरेको ब्यवसायिक यात्राबाट प्रशिक्षित छिन् । उनको अध्ययनशील स्वभाव, कामप्रतिको लगाव, लामो अनुभवसहितको अनवरत यात्रा र पिता ईश्वरलालबाट प्राप्त निष्ठा र इमानप्रतिको बफादारिता उनको जीवनको सफल र सबल पाटा हुन् ।

उनका पिता ईश्वरलाल श्रेष्ठ नेपाल च्याम्बर आन्दोलनका एक अथक योद्धा थिए । जसले इमानको ब्यवसाय नै दीगो, भरपर्दो र राष्ट्रप्रति समर्पित रहने भन्दै सोहीअनुरुप अन्य ब्यवसायीहरुलाइ जनहितमा लाग्न प्रेरित गर्दथे ।