‘पाउडर दूधको आयात रोक्छौं’ : कृषिमन्त्री खनाल

chakrapani khanal22
लाेकपाटी न्यूज

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनालले दूधको नियमनमा कडाइ गरिने बताएका छन् ।

राष्ट्रिय दुग्ध बिकास बोर्डले सुनसरीको इटहरीमा आयोजना गरेको असल दुग्ध उत्पादन अभ्यास तालिमलाई सम्बोधन गर्दै मन्त्री खनालले भने, ‘साइकलदेखि ट्याङ्करसम्ममा नियमन र अनुगमन गरिन्छ । मापदण्ड पुरा नगर्नेलाइ छोडिन्नँ । दूधको गुणस्तर सुधार गर्न कुनै कसर बाँकी राखिन्नँ ।’

मन्त्री खनालले थपे, ‘सडकमा दूध पोख्ने दिनको अन्त्य हुन्छ । धेरै देशबाट नेपालमा दूध आएको पाइएको छ । बाहिरबाट सस्तोमा दूध आउदा नेपाली किसानले प्रतिस्पर्धा गर्न सकेका छैनन् । पाउडर लगायत अब कुनै पनि दूधको आइटम बिदेशबाट लिन दिइन्नँ ।’

खनालले भने, ‘नेपाल दूधमा लगभग आत्मनिर्भरताको दिशामा छ । दूध उत्पादक किसानलाई प्राथमिकता दिइन्छ । सुधार किसानको गोठबाटै गर्नुपर्छ । सातै प्रदेशमा नार्कका कार्यालय हुन्छन् । प्रदेश १ मा नार्कको कार्यलय सञ्चालनको क्रममा म यहाँ आएको छु । मन्त्रालयको पहलमा नार्कले किसान आवास परियोजनाअन्तर्गत किसान आवास तालिम सुरु गरेको छ ।’

मन्त्री खनालले थपे, ‘एक महिना लगाएर कार्याविधि तयार भएको छ । किसान त्यही बसेर तालिम लिन्छ । एक हप्तादेखि १५० दिनसम्मका तालिम हुन्छन् । खाने बस्ने व्यवस्था सरकारले गर्छ । सबैले बुझ्ने गरि २ घण्टा सैद्धान्तिक र बाँकी समय व्यवहारिक तालिम लिन्छन् ।’

कार्यक्रममा कृषि तथा पशुपन्छी राज्यमन्त्री रामकुमारी चौधरीले तालिमबाट सिकेको कुरालाई सही तरिकाले प्रयोग गर्न र अरुलाई सिकाउन आग्रह गरिन् । दूधको गुणस्तर सुधार गर्न किसान आफै सचेत हुनुपर्ने उनले बताइन् । चार दिनसम्म चलेको तालिममा प्रदेश १ का २६ जना कृषक सहभागी छन् ।

49848536_1973711412923359_7360398404205150208_n