पूर्वराजाका समर्थक पशुपतिबाट लखेटिए

gyanendra-shah
लाेकपाटी न्यूज

काठमाडौं । पछिल्लो समय राजावादी शक्तिको सक्रियता बढेको छ । निर्मला हत्या प्रकरण लगायतका केही घटनामा सरकार र प्रशासन चुकेको फाइदा उठाउँदै राजावादीहरु सक्रिय भएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र स्वयंले पनि गणतन्त्रका विरुद्ध अभियान चलाइरहेका छन् । गोप्य रुपमा आफ्ना समर्थकहरुसँग भेटघाट गरेर उनले आफ्नो सक्रियता बढाएका हुन् । त्यही क्रममा पूर्वराजा ज्ञानेन्द्रले पोखरा र छोरा पारसले चितवनमा आफ्ना समर्थकहरुसँग भेटघाट गरे ।

यस्तै अभियानस्वरुप पूर्वराजाका समर्थकहरुले पशुपतिमा कार्यक्रम आयोजना गरेका थिए । उनीहरु पशुपति मन्दिर परिसरमा एउटा भेला गरेर देशमा राजतन्त्र फर्काउने उद्घोष गरेका थिए । ‘राष्ट्रिय स्वाधीनताको लडाईमा जनताको असल साथी राजा’ नाराका साथ ‘कफन’ नामक एक संस्थाद्वारा आयोजित उक्त कार्यक्रम सहभागी हुन २ दिन अगाडिबाटै सामाजिक सञ्जाल फेसबुकबाट अभियान चलाएका थिए ।

उनीहरुले सम्पूर्ण राजावादी समूहलाई सहभागी हुन अपील समेत गरेका थिए । तर, उक्त कार्यक्रममा १० जना पनि सहभागी भएनन् । नेपालको झण्डासहित केही राजावादी उपस्थित भए पनि मन्दिर परिसरभित्रका सुरक्षाकर्मीले उनीहरुलाई प्रवेश दिएनन् ।

सुरक्षाकर्मीले परिसरभित्र कार्यक्रम नगर्न उनीहरुलाई आग्रह गरेका थिए । तर, उनीहरुले प्रहरीमाथि बलप्रयोग गर्न खोजेपछि राजावादीहरुलाई मन्दिर परिसरबाट हटाइएको छ । स्थानीयले नै राजावादीहरुको कार्यक्रम अवरोध गरेर उनीहरुलाई हटाएका हुन्।