सर्जियो अगुएरो : ठूला खेलका नायक

Aguero
लाेकपाटी न्यूज

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शीर्ष स्थानमा रहेको लिभरपुललाई बिहीबार राति २–१ ले पराजित गर्दै उपाधि यात्रामा फर्कियो । खेलमा फरवार्ड सर्जियो अगुएरोले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो स्तर सिद्ध पारे ।

सिटीका लागि अगुएरोले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । उनले ४०औं मिनेटमा बर्नाडो सिल्भाको पासलाई गोलमा परिणत गरेका थिए । लिभरपुलविरुद्धको महत्वपूर्ण खेलमा गोल गरेसँगै अगुएरोले प्रिमियर लिगका ‘बिग सिक्स’ क्लब विरुद्ध ३७ गोल पूरा गरेका छन् ।

प्रिमियर लिगको ‘बिग सिक्स’ क्लबमा सिटीसहित लिभरपुल, चेल्सी, टोटेनहम, आर्सनल र म्यानचेस्टर युनाइटेडलाई मानिने गर्दछ । अर्जेन्टिनी फरवार्ड अगुएरो सन् २०११-१२ को सिजनमा सिटीमा आएयता बिग सिक्सविरुद्ध लगातार गोल गर्न सफल भएका छन् । उनले पछिल्लो पाँच सिजनमा बिग सिक्सविरुद्ध गोल गर्दै कीर्तिमान बनाउन सफल भएका हुन् । यही समयमा टोटेनहमका ह्यारी केनले २१ गोल पूरा गरेका छन् ।

सिटीका अगुएरोले लिभरपुल विरुद्ध ७ गोल गरेका छन् । अगुएरोले सबै ७ गोल घरेलु मैदान इतिहाद स्टेडियममा गरेका हुन् । अगुएरोले चेल्सी विरुद्ध पनि ७ गोल गरेका छन् । सबैभन्दा धेरै टोटेनहमविरुद्ध १० गोल गरेको अग्विरोले म्यानचेस्टर युनाइटेडविरुद्ध ८ र आर्सनल विरुद्ध ५ गोल गरेका छन् ।

यही अवधिमा म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड वाइन रोनीको नाममा २० गोल छ । युनाइटेडकै रोविन भान पर्सीले १८ गोल गर्दा चेल्सीका इडेन हजार्डले १७ गोल गरेका छन् ।