मनोरञ्जनात्मक बन्दै पाँचखाल महोत्सव

लाेकपाटी न्यूज
0 Shares

काभ्रेपलाञ्चोक, ८ कात्तिक। पाँचखाल युनाइटेड फुटबल एशोसियसन पुफाद्वारा ‘भ्रमण वर्ष–२०२०’ लाई लक्षित गरेर आयोजना गरेको पाँचखाल महोत्सव मनोरञ्जनात्मक बन्दै गएको छ। आयोजकले केही दिनदेखि चर्चित गायक गायिकाबाट साङ्गीतिक प्रस्तुति गराएपछि महोत्सव मनोरञ्जनात्मक बन्दै गएको हाे ।

महोत्सवमा पाँचखाल आसपास तथा छिमेकी जिल्ला सिन्धुपाल्चोकबाटसमेत उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। महोत्सवमा २० स्थानीय कृषि उपज तथा अन्य व्यापारिकसहित ८५ कक्ष र मनोरञ्जनात्मक सामग्री छन्।
साथै, बालबालिकाको मनोरञ्जनका लागि विभिन्न खेल, पिङ तथा कृषकलाई आवश्यक पर्ने विभिन्न प्रकारका कृषि औजार पनि राखिएका छन्।

भ्रमण वर्ष लक्षित गर्दै दोस्रोपटक गत असोज २९ देखि यही कात्तिक ९ गतेसम्मका लागि महोत्सव आयोजना गरिएको हो। महोत्सवमा सहभागीलाई मनोरञ्जन दिलाउन फरक–फरक विधाका कलाकार ल्याइएको आयोजकका सचिव एवं महोत्सव संयोजक जीवन नेपालले बताउए।

महोत्सवमा विशेषगरी हालसम्म चर्चित गायकगायिका कमल खत्री, बद्री पङ्गेनी, प्रिती आले, ज्योति मगर, नवराज घोरासैनी, भोजराज काफ्ले, सरोज लामिछाने, विन्दु परियार, ग्लुमी गाइजको प्रस्तुति गराइएको छ। महोत्सवमा उल्लेख्य सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष मिलन श्रेष्ठले बताएका छन्। उनका अनुसार नौ दिनमा ५० हजारले महोत्सवको अवलोकन गरेका छन्।

महोत्सवको आकर्षणका रुपमा ११ वर्षकी बालगायिका कमला घिमिरे रहेकी छिन्। उनले युवा गायिकाझैँ दोहोरी गीत प्रस्तुत गर्दा उपस्थितले निकै मनोरञ्जन महसुस गरेका स्थानीय सन्तोष बानियाँले बताए। उनी आएका दिन महोत्सवमा करीब पाँच हजारको उपस्थिति रहेको थियो। पाँचखाल क्षेत्रमा उत्पादित कृषि उपज, स्थानीय पर्यटन तथा विविध सांस्कृतिक मौलिकतालाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

हामीले भ्रमण वर्षलक्षित महोत्सव आयोजना गरेका छौँ, महोत्सवले पाँचखालका उत्पादन तथा सांस्कृतिक एवं पर्यटन, भ्यूटावरलगायत स्थलको प्रचारप्रसार गर्दैछौँ”, संयोजक नेपालले बताए। उनका अनुसार महोत्सवले पाँचखालमा पर्यटक भित्र्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। महोत्सवमा पाँचखाल क्षेत्रमा बसोबास गर्ने दनुवार तथा तामाङ समुदायको वेषभूषा, कला संस्कृति तथा रहनसहनको कलात्मक प्रस्तुतिलाई विशेष महत्व दिइएको छ।

यस्तै, पर्यटकीय स्थान नगरकोटस्थित वृहत् पर्यटन सहकारी संस्थाले भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत विदेशी पाहुनाका लागि नगरकोटका १० घरमा घरवास व्यवस्थापन गरेको छ, भने विदेशी पाहुनाका लागि पर्यटन सूचना केन्द्र स्थापना गर्ने, सहकारीमार्फत नगरकोटमा स्वदेशी–विदेशी पाहुनाका लागि स्वच्छ वातावरण, स्वस्थ खाना, सहज एवं रमणीय बसाइँको व्यवस्थापन तथा घरवासको सङ्ख्या बढाउँदै लगिने, स्थानीय सक्षम युवा छनोट गरी ‘गाइड’सम्बन्धी तालीम दिइने, पर्यटकीय एकीकृत वस्ती निर्माणको कार्ययोजना बनाउन सम्भाव्यता अध्ययन थालिने, नगरकोटका होटलमा अग्र्यानिक तरकारी प्रयोग गराउन हाललाई उपलब्ध गराउने र त्यससम्बन्धी खेती शुरु गर्ने योजना बनाएको छ।

यसअघि काभ्रेपलाञ्चोकमा पर्यटन प्रवद्धनार्थ भ्रमण वर्षलक्षित पूर्वतयारीअन्तर्गत तेमाल हाइकिङ, नमोबुद्ध हाइकिङ शुरु गरिएको छ।

साथै, सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको विष्णु दल गणले भ्रमण वर्षलक्षित नेपाल एकीकरणका दौरान जिल्लामा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘युनिफिकेशन टेकिङ टेलका रुपमा विकसित गर्ने योजना अघि सारेको छ।