नेकपा देशको लोकप्रिय शक्ति हाे : माधव नेपाल

madhav kumar nepal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पाटी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले सरकारले परिवर्तनको अनुभूति गराउने गरी काम गर्न सकेमात्र जनताका बीचमा लोकप्रिय भइरहने बताएका छन्। संस्थापक महासचिव पुष्पलालका नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको २५ औँ साधारणसभामा नेता नेपालले सरकार सञ्चालनसम्बन्धी विगतमा अनुभवहरुलाई ध्यानमा राख्दै अघि बढ्नुपर्नेमा जोड दिए।

उनले भने, ‘सरकार सञ्चालनसम्बन्धी विगतमा अनुभवहरुलाई ध्यानमा राख्दै परिवर्तनको अनुभूति गराउने गरी काम गर्न सक्दा हामी जनताका बीचमा लोकप्रिय भइरहन्छौं।’ उनले पुष्पलालले पाँच जनाबाट शुरु गरेको कम्युनिस्ट पार्टी अहिले लोकप्रिय र विश्वासिलो शक्तिका रुपमा स्थापित भएको बताए।

‘पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी अनेक उकाली–ओराली छिचोल्दै पुनः एकीकृत भएकाले यसको महत्व तथा जिम्मेवारी थप बढेको छ,’ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको शुक्रबार सम्पन्न २५ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले भने।

प्रतिष्ठानका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी अनेक उकाली–ओराली छिचोल्दै पुनः एकीकृत भएकाले यसको महत्व तथा जिम्मेवारी थप बढेको उल्लेख गरे। भने, ‘जनताका आकांक्षा र परिवर्तनको सपनालाई सार्थक पार्नु नै हाम्रो यतिबेलाको प्रमुख कार्यभार हो। यो कार्यभार राम्ररी पूरा गर्न सक्दा मात्रै संस्थापक महासचिव पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली ठहर्छ।’

साधारणसभामा प्रतिष्ठानका महासचिव गंगालाल तुलाधारले हालसम्म भएका कामहरुको विवरण पेस गर्नुका साथै आगामी बर्षका लागि कार्यक्रमहरु प्रस्ताव गरेका थिए। उनका अनुसार प्रतिष्ठानले आगामी बर्ष संस्थापक महासचिव पुष्पलालको आधिकारिक जीवनी प्रकाशन गर्ने, पार्टी स्थापनादेखि सबै महाधिवेशनहरुलाई समेत समेटेर ऐतिहासिक तस्वीर संग्रह प्रकाशन गर्ने, निर्माणाधीन पुस्तकालय भवनलाई पूर्णता दिने, रामेछापको भँगेरीमा पुष्पलालको पूर्ण कदको शालिक स्थापना गर्ने, कम्युनिस्ट आन्दोलनका दस्तावेजहरुको छैटौँ संग्रह प्रकाशन गर्ने, मुखपत्रका रुपमा नयाँ जनवाद प्रकाशन गर्ने जस्ता कार्यक्रम तय गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्