जनकपुर आइपुगेको रेल नेपाललाई हस्तान्तरण, कहिले आउँछ सञ्चालनमा ?

Rail_Train
लोकपाटी न्यूज
0 Shares

धनुषा। बहुप्रतिक्षित जनकपुर-जयनगर रुटमा सञ्चालन हुने नेपालको राष्ट्रिय झण्डाको रङ रातो, निलो र सेतो पेन्ट गरिएको रेल आज दिउँसो जनकपुरधाम आइपुगेपछि भारतीय रेल निर्माण कम्पनीले नेपाल रेल विभाग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडका अधिकारीलाई हस्तान्तरण गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा निर्माण कम्पनीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेको हो। कोकन रेल्वे कर्पोरेशन लिमिटेडका मेकानिकल चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईलाई रेल हस्तान्तरण गरेका हुन्।

हस्तान्तरणपछि नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले कोरोना महामारीको जोखिम कम भए जनकपुर-जयनगर-कुर्था रेल सेवा दसैंसम्ममा सञ्चालन गर्ने तयारी रहेको बताए। उनले जनशक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएकाले चाँडै रेल सञ्चालन हुने बताए। पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनका निम्ति सम्पूर्ण संरचना तयारी भएको छ।

रेल सञ्चालनका लागि रेल विभागले कर्मचारी भर्ना आह्वान गरेको छ। कर्मचारी भर्ना भएलगतै जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालन हुने छ। महोत्तरीको भंगहादेखि बर्दिवाससम्ममा १७ किलोमिटरमा जग्गा अधिग्रहणको कामकाज भइरहेको छ। डिजेल तथा विद्युतबाट चल्न मिल्ने सो रेल नेपालको झण्डासहित चाँडै सञ्चालन हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

मन्त्रिपरिषद्को वि.सं. २०७५ चैत ४ गतेको निर्णयानुसार जयनगरदेखि बर्दिबासम्म सञ्चालन गर्न दुईसेट रेल खरिद गर्ने गरेर रेल विभागले भारतीय कोकन रेल्वे कर्पोरेशनसँग सम्झौता गरेको थियो। जिटुजीमार्फत भ्याटबाहेक ८३ करोड ९३ लाख ६० हजार रुपैयाँमा खरिद गरिएको रेल एक पटकमा १३ सय यात्री बोक्ने क्षमता रहेको एउटा रेल सेट प्रतिघण्टा ११० किलोमिटर यात्रा तय गर्नेछ।

नेपाल सरकारले खरिद गरेको सो रेल भारतको कंकन कम्पनीले निर्माण गरेका दुई सेट रेलमा आठ वटा वोगी तथा दुई ईन्जिन रहेका छन्। यसमा एक सेट रेलमा एक वटा वातानुकूलित बोगी तथा तीन-तीन सामान्य बोगी रहेका छन्। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्