नेपाली साहित्यमा पारिजात (जीवनी)

Parijat biography
लाेकपाटी न्यूज
44 Shares

काठमाडौं । दार्जिलिङको लिंगीय चिया कमानमा वि.‍‍सं १९९४ मा जन्मिएकी विष्णुकुमारी वाइवा ‘पारिजात’ नै त्यस्ती स्रष्टा हुन्, जो नेपाली भाषा साहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बन्न सफल भइन् । उनको पिता के.एन. वाइवा र माता अमृत मोक्तानले उनको नाम विष्णुकुमारी राखे पनि लामाले चेकुडोल्मा ‘तारा रानी’ राखिदिएका थिए।

तर, उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन गयो, जुन उनी आफैले रोजेकी थिइन् । उनका असंख्य कृतिहरुले जीवन्त सुवास दिएर यस नामलाई सार्थक पारेका छन् । विष्णुकुमारी वाइवाले पारिजातको फूल नदेख्दै आफैं आफ्नो नाउँ पारिजात राखेकी थिइन् । पारिजातको फूलको बोट भने यिनले काठमाडौं आएपछि मात्र देखेकी थिइन् । पारिजातको नाउँ राम्रो लागेर र पारिजातको फूल झरेपछि भुइँबाट मात्र टिपिन्छ भन्ने थाहा पाएर यिनले आफूलाई पारिजातमा नै रङ्गाएकी थिइन् ।

प्रारम्भिक पढाई दार्जिलिङमै हासिल गरी वि.सं. २०११ सालमा काठमाडौं भित्रिएकी पारिजातले उनले पद्मकन्या विद्याश्रमबाट एसएलसी पास गरिन् भने आइ.ए. र बि.ए. पद्मकन्या कलेजबाट पास गरिन् । पद्मकन्या कलेजमा पढ्दा उनी धेरै नै चुरोट पिउँथिन् । त्यस बेला पद्मकन्यामा पढ्ने अरू विद्यार्थी पनि चुरोट खाने गर्थे । पढ्दै गर्दा उनले गोविन्दबहादुर मल्ल गोठालेको ‘युगको शिकार’ नामक नारीप्रधान नाटकमा नायिकाका रूपमा अभिनय गरिन् ।

अंग्रेजी विषयमा एम.ए. गर्ने इच्छाले त्रिभूवन विश्वविद्यालय कलेजमा उनी भर्ना त भइन् । तर, शारीरिक अशक्तता र लेखन कार्यमा विशेष सक्रिय भएको कारणले उनको इच्छा अधुरै रह्यो। दर्शनशाश्त्र र साहित्य विषयका ग्रन्थहरु खोजीखोजी पढ्ने उनको बानी थियो।

पारिजात एक सङ्घर्षशील नारी थिइन् । बाल्यावस्थामै आमाको मृत्यु भएकाले मातृस्नेह कस्तो हुन्छ भन्ने कुरा उनले अनुभव गर्न पाइनन् । त्यसपछि उनले आफ्नो एकमात्र दाजुको वियोग पीडा पनि खप्नुप्यो । पिताको रेखदेखमा काठमाडौं बसी अध्ययन गर्दा उनले विभिन्न समस्याहरुसँग जुध्नुप्यो । वि.सं. २०२९ सालमा पिताको देहवसान भएपछि उनी पितृस्नेहबाट पनि बञ्चित भइन् ।

पारिजात आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहिनन् । पारिजातका बुबा के.एन. लामा भारतीय सैनिक सेवामा आबद्ध थिए । आमा अमृताले चाहिँ घरगृहस्थीलाई आफ्नो थाप्लोमा बोकेकी थिइन् । पछि सैनिक सेवा छाडेर उनी चिकित्सा क्षेत्रमा लागे । सैनिक सेवा छाडेपछि उनको घरको आर्थिक स्थिति कमजोर भएको थियो । पारिजातको बाल्यकाल कठ्याङ्ग्रिएर नै बित्यो । सानैदेखि उनी बिरामी भइरहन्थिन् । त्यसै बेलादेखि उनको शरीर कुँजिनेक्रम सुरु भएको थियो । पारिजात १३ वर्षकी हुँदा उनलाई हाडजोर्नी दुख्ने समस्याले सताइसकेको थियो । जुन दुखाइ उनको जीवनभरि रह्यो ।

पारिजात सानैदेखि अन्तर्मुखी स्वभावकी थिइन् । त्यस बेलादेखि नै उनी अटेरी, जिद्दी र एकलकाँटे पनि थिइन् । उनको वैयक्तिक चरित्रले उनलाई काव्य यात्रामा डोर्याएको थियो । सानैदेखि उनलाई आफ्नो घरगाउँका पाखा, पर्वत र जङ्गलमा डुलिरहन मान लाग्थ्यो । पारिजात बाहिर गएको बेला सधैँजसो वनपाखाबाट फूल टिपेर घरमा सजाउने गर्थिन् । फूल उनलाई असाध्यै मनपर्ने कुरा थियो ।

पारिजातका बाबुको छोरीलाई डक्टर पढाउने इच्छा थियो । तर, पारिजातको भने नाँच्न, गाउन, लेख्न, डुल्न र खेल्ननै रुचाउँथिन् । त्यसैले उनले आफ्ना बुबाकोकुरामा कहिल्यै ध्यान दिइनन् । उनी आफ्नो जीवनलाई स्वतन्त्र छोड्न प्रकृतिसँग अनुमति माग्थिन् । उनी कहिल्यै पनि अर्काको वशमा परिनन् ।

पारिजात स्नातक उत्तीर्ण भएपछि वासुदेव लुइँटेलको सहयोगमा मदन मेमोरियल स्कुलमा अध्यापक बनिन् । पारिजात त्यहाँको ९ र १० कक्षामा खास गरी नेपाली, अङ्ग्रेजी, भूगोल र भारतको इतिहास पढाउँथिन् । त्यस बेला स्कुलमा गाइने प्रार्थना गीत पनि यिनैले लेखेकी थिइन् । स्कुलमा गुरुआमा हुनुभन्दा अघि नै उनी साहित्य सिर्जनामा समर्पित भइसकेकी थिइन् । उनलाई साहित्य रचनामा प्रेरित गर्ने चित्तरञ्जन नेपाली थिए ।

मदन मेमोरियल स्कुलमा पढाउँदा पढाउँदै पारिजात क्रमशः बिमारी हुन थालिन् । जसले गर्दा उनी स्कुल छाड्न बाध्य भइन् । स्कुल छाडेपछि उनी बाथ रोगको शिकार बनिन् । त्यसपछि उनी खाटमा सुतीसुती साहित्यिक रचना रच्ने गर्न थालिन् । त्यही पीडामा उनले ‘शिरीषको फूल’ नामक उपन्यास पनि लेखिन् । वास्तवमा त्यस किताबलाई उनले ‘ढिला विष’ लगायत एघार वटा शीर्षक राखी प्रेमा शाहलाई उपन्यासको उपयुक्त नाउँ चुन्न अनुरोध गरेकी थिइन् । त्यस कृतिको पाण्डुलिपि पढेर प्रेमा शाहले त्यसको नामे ‘शिरीषको फूल’ राख्न पारिजातलाई सल्लाह दिएकी थिइन् ।

‘शिरीषको फूल’ लेखिसकेपछि पारिजातलाई रोगले झन्झन् सताउन थाल्यो । त्यसै बेलादेखि उनी जीवनभरि नउठ्ने भइन् । एउटा बैँसालु जीवनको भोग गरिरहेकै बेला उनी कुँजिने रोगबाट ग्रसित भइन् । त्यसपछि यिनले धूमपानका अतिरिक्त रक्सीको सेवनमा पनि आफूलाई डुबाउन थालिन् ।

शारीरिक रूपमा दुर्बल, अशक्त र अक्षम भएता पनि मानसिक रूपमा पारिजात सशक्त थिइन् । उनको व्यक्तित्वको सबैभन्दा राम्रो विशेषता के थियो भने उनलाई देखेपछि जुनसुकै मान्छेलाई पनि उनीप्रतिको अत्यन्तै माया, श्रद्धा र स्नेहले पगाल्थ्यो । वैंशका बेलामा अति सुगन्धित गुलाफ नै थिइन् । ईश्वर बरालका अनुसार भन्ने हो भने वैंशमा पारिजातको रूप, शरीर र बोली तीनै थोकले युवाहरू मोहित हुन्थे ।

पारिजात प्रेमी स्वभावकी थिइन् । धेरैले पारिजात र शङ्कर लामिछानेका बीचमा पनि प्रेम रहेको शङ्का गरे । यसै प्रसङ्गमा वासुदेव लुइँटेलले भनेका थिए शङ्कर लामिछाने पारिजातका भान्से मात्र थिए, प्रेम गर्ने अरू नै थिए । उनी संकुचित स्वभावकी थिइनन् । यौनका कुराबारे उनी निर्धक्क भन्न र लेख्न पनि सक्थिन् । पछिसम्म उनले भनिरहिन् मेरो पहिलो प्रेमीसँगको शारीरिक चाहना अझ पनि छ मसँग ।

चौध वर्ष पुगेपछि यिनले धनुवर मुखियासँग पहिलो औपचारिक प्रीति गाँसिन् । उनी सुन्दरी भएकै नाताले काठमाडौंमा पनि प्रायः साहित्यकारहरू उनका पछि लागिरहन्थे । त्यति बेला खास गरेर यौनपिपासुहरू माझ जोगिएर हिँड्न पारिजातलाई कठिन पनि थियो । पारिजातले साहित्य रचना गर्ने क्रममा प्रेम, प्रकृति र जीवन र जगत पनि लेखिन् । उनले आफ्नो जीवनमा २३ पुस्तक लेखेकी छिन् ।

पारिजातका जे–जति साहित्यिक सिर्जना भएतापनि उनीलाई शिरीषको फूलले नै अमर बनायो । उनका अन्य कृतिहरू आ–आफ्नै ठाउँमा स्थापित भएता पनि पारिजातलाई शिरीषको फूलले मात्रै चिनायो । तर, उनले कुनै बेला भनेकी थिइन्, मेरो शिरीषको फूल च्यातिदिनू । वास्तवमा उनका राजनीतिक गुरु गोविन्द भट्टले शिरीषको फूललाई कागजको फूल लेखिदिएपछि उनले त्यस उपन्यासको तीव्र रूपमा आलोचना गरेकी थिइन् । मदन पुरस्कारसमेत टिपिसकेको त्यस कृतिलाई पारिजातले विकृत उपन्यासका रूपमा स्वीकार्दै जान थालेकी थिइन् ।

आर्थिक अवस्था बिगे्रका कारण पारिजातले मदन पुरस्कारसँग प्राप्त गरेको चाँदीको फ्रेम पनि बेचेकी थिइन् । पारिजात बिरामी भएर थला पर्दा ठाउँ–ठाउँमा उनका नाउँमा चन्दा उठाइन्थ्यो । जिल्ला–जिल्लामा यिनको सहयोगार्थ थैली भेला पारिन्थ्यो । तर, यिनका नाउँमा जे–जति पैसा उठाइए पनि यिनले कहीँबाट पनि कुनै चन्दा र आर्थिक सहयोग लिइनन् ।

पारिजातलाई प्रगतिशील साहित्यकारहरूले गुरुआमा नै मान्थे । पारिजातको स्रष्टाले पहिलो चरणमा स्वच्छन्दतावाद र छायावादलाई अँगाल्यो । त्यसपछिका दिनहरूमा पारिजातको साधनाले अस्तित्ववादी, राल्फावादी हुँदै प्रगतिवादी मोडमा पुगेर विश्रान्ति लियो। पारिजात साहित्यकार भएका नाताले राल्फाको नेतृत्वमा गइन् र नेपाल मानवअधिकार सङ्गठनकी उपाध्यक्ष पनि बनिन् । उनी प्रगतिशील लेखक सङ्घकी सदस्य समेत रहिन् । उनी बन्दी सहायता नियोगकी संस्थापक तथा अध्यक्ष थिइन् ।

नेपाली भाषासाहित्यको सेवा गरेबापत उनी २०२२ सालमा मदन पुरस्कारबाट सम्मानित भइन् । साथै यिनले गंकी वसुन्धरा र र्सवश्रेष्ठ पाण्डुलिपि पुरस्कार पाइन् । त्यतिमात्रै होइन, यिनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट विद्वत्ति प्राप्त गरेकी थिइन् । पारिजातको निधन वि.सं. २०५० साल वैशाख ५ गते भयो । नेपाली साहित्यकी सुगन्धको विर्सजनले नेपाली भाषा साहित्यको सम्पूर्ण फाँट नै गहिरो शोकमा डुब्यो ।

उनको शेषपछि उनको तस्बिर अङ्कित तीन रुपियाँको हुलाक टिकट प्रकाशनमा आयोे । त्यसै गरी ठाउँ–ठाउँमा पारिजातका सालिक बने । उनका नामलाई शीर्षक बनाएर अनगिन्ती समालोचना, संस्मरण र जीवनीका कृति प्रकाशनमा आए। यसरी नेपाली साहित्य जगतकी एक मुर्धन्य व्यक्तित्वको अवसान भयो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्