फेवाताल किनारमा रैथाने खाना महोत्सव

https://lokpati.com/wp-content/uploads/2018/09/Pokhara.jpg
लोकपाटी न्यूज
0 Shares

कास्की। नेपाली नयाँ वर्ष २०८१ को अवसरमा पोखराको फेवाताल किनारमा आयोजना हुने १९औँ संस्करणको फेवा नववर्ष महोत्सवमा नेपाली रैथाने खानासमेत समावेश गरिने भएको छ। फेवा नववर्ष महोत्सव यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म लेकसाइडको ड्यामसाइडबाट हल्लनचोकसम्म हुँदैछ।

होटल संघ नेपाल केन्द्रको सहयोग र सेफ एशोसिएसन अफ नेपालको सहकार्यमा पोखरा-६ गौरीघाटस्थित होटल ग्लेसियर एण्ड स्पामा गण्डकी प्रदेशस्तरीय खाना महोत्सव आयोजना गर्न लागिएको होटल संघ पोखरा, नेपालका महासचिव राजेन्द्र ढकालले जानकारी दिए। उनका अनुसार महोत्सवमा गण्डकी प्रदेशमा रहेका विभिन्न रैथाने खानालाई समावेश गरिएको छ।

महोत्सवबाट स्थानीय खानाको अन्तर्राष्ट्रिय बजारीकरणमा समेत सहयोग पुग्ने महासचिव ढकालले बताए। फेवा नववर्ष महोत्सव ड्यामसाइडचोकबाट खहरेचोकसम्मको साढे तीन किमी क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित सञ्चालन हुँदैछ।

महोत्सवको आन्तरिक तथा बाह्य गरी तीन लाख पर्यटकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ। महोत्सवअन्तर्गत लेकसाइडका सबै चौतारामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवको अवसरमा होटल संघ पोखरामातहतका होटलको प्रकाशित दररेटमा २० प्रतिशतसम्म छुट प्रदान गरिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

महोत्सवका मूख्य आकर्षणमा परम्परागत नेपाली खानाको प्रवर्द्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रहसन र पर्यटक दौड प्रतियोगितालगायत रहेका छन्।

कोभिड-१९ पछि पूर्ववत अवस्थामा सञ्चालन हुन नसकेर थला परेको होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन महोत्सव सफल हुने विश्वास लिइएको छ। होटल संघ पोखराले दुई दशकअघिदेखि नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएको छ। कोरोना महामारीका कारण दुई वर्ष सञ्चालन नभएको सो महोत्सव त्यसपछि भने निरन्तर सञ्चालन हुँदैआएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्