भेनेजुएला प्रकरण : अन्त्य भयो कूटनीतिक असमझदारी

Prachand and randi berry
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २९ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट नेताले नेपाल र अमेरिकाबीच चर्किएको कूटनीतिक असमझदारी अन्त्य भएको बताएका छन् । उनले दक्षिण अमेरिकी देश भेनेजुएलाको विषय अब थप नचर्किने बताएका हुन् ।

नेकपाका अध्यक्ष प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शनिवार प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको थियो ।

प्रचण्डको परिवारका एक सदस्य समेत रहेका नेता नारायण दाहालले एक घन्टा जति भएको उक्त भेट राजनीतिक वा कूटनीतिक विषयमा मात्र सीमित नभएको जानकारी दिए । उनले प्रचण्डको पारिवारिक पीडालाई कम गर्न समेत भेटले सघाएको बताएका छन् । राजदूत बेरी प्रचण्डको अमेरिका भ्रमण योजनाप्रति पनि सकारात्मक रहेको उनले प्रष्ट पारे ।

अमेरिकाको असन्तुष्टिका कारण प्रचण्डको भ्रमण अन्योलमा परेको अफवाह फैलिएका बेला दाहालले सो कुरा बताएका हुन्।

भेनेजुएलाको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने भन्दै केही साताअघि नेकपाका अध्यक्ष प्रचण्डले एक वक्तव्य जारी गरेपछि अमेरिका र नेपालबीचको सम्बन्धमा चिसोपन आउन थालेको खबर आएको थियो ।

प्रचण्डले जनवरी २५ मा एक वक्तव्य निकाल्दै भेनेजुएलामा सत्ता हत्याउनको लागि हुन सक्ने साम्राज्यवादी हस्तक्षेप अस्वीकार्य हुने टिप्पणी गरेका थिए ।

पछिल्लो प्रचण्ड-बेरी भेटपछि अमेरिका र सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डबीचको असमझदारी हल भएको नेता नारायण दाहालको भनाई छ । दाहालले भने, ‘अध्यक्ष कमरेडको भनाइ अनुसार कुराकानी निकै सौहार्दपूर्ण र असाध्यै राम्रो भयो । भेनेजुएलाका विषयमा दुवै पक्षबीच रहेका सबै भ्रमहरूलाई चिर्ने काम भयो ।’

भेनेजुएलाका विषयमा जारी वक्तव्य प्रकरणले नेकपाका दुई अध्यक्षबीचको सम्बन्ध चिसिन सक्ने र त्यसले पार्टी एकीकरण प्रक्रियालाई नै प्रभावित तुल्याउने चिन्तासमेत व्यक्त हुन थालिसकेको थियो । तर, बेरीलाई भेटेलगत्तै नेकपाका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । यस बिषयमा प्रचण्ड र ओलीबीच दुई घण्टा कुराकानी भएको पनि नेता दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्