महिला फुटबल खेलाडीलाई रु. एक लाख नगद पुरस्कार

football
लाेकपाटी न्यूज
0 Shares

विराटनगर, १० चैत । पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई रु. एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले उनीहरुलाई नगद रु. एक लाख नगद पुरस्कार दिने घोषणा गरेको हो । एन्फाको शनिबार साँझ सम्पन्न १८औँ वार्षिक साधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले उक्त निर्णय सार्वजनिक गरे । यसअघि पाँचौ साफ फुटबल खेल्ने खेलाडीलाई प्रदेश सरकारले रु एक लाख तथा विराटनगर महानगरपालिकाले रु ५० हजार प्रदान गर्ने निर्णय गरिसकेको छ ।

यसैगरी एन्फाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु २३ करोड ७४ लाख ५० हजारको अनुमानित वार्षिक बजेटसमेत स्वीकृत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले साफ फुटबल सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग प्राप्त भएकामा धन्यवाद दिँदै प्रदेश नं १ मा आगामी दिनमा मुख्यमन्त्री आमन्त्रण फुटबल तथा १० देखि १२ वर्ष उमेरका महिलाका लागि फुटबल प्रशिक्षण कार्यक्रम चाँडै सञ्चालन गर्ने जानकारी दिए । उनले प्रदेश सरकारको सहयोग प्राप्त भए विराटनगरमा महिला फुटबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्ने आश्वासनसमेत दिए ।

विराटनगरको शहीद रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसारको निर्माण सम्पन्न भएकामा खुशी व्यक्त गर्दै त्यसको संरक्षण गर्ने जिम्मेवारीसबैको काँधमा आएको उनको भनाइ थियो । साफ महिला फुटबल सम्पन्न गर्न विराटनगर महानगपालिकाबाट रु एक करोड २० लाख र प्रदेश सरकारबाट रु ५० लाख भौतिक पूर्वाधारका लागि प्राप्त भएको र सोही शीर्षकमा खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । साफ खेलकूदबाट प्रतियोगिता सम्पन्न गर्न रु एक करोड ६५ लाख प्राप्त हुने विश्वास गरिएको छ ।

पत्रकार सम्मेलनमा साफ महिला फुटबलसम्बन्धी सम्पूर्ण खर्च तथा आम्दानी आगामी एक हप्ताभित्र सार्वजनिक गरिने प्रवक्ता राईले बताए । यस्तै एन्फाले खेलकूद पत्रकारिताका लागि तीनदिने प्रशिक्षण कार्यक्रम समेत गर्ने अध्यक्ष शेर्पाले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्