रत्नपार्कमा उभिए पहिलो अन्तरिक्ष यात्री गागरिन

gagarin
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ११ वैशाख । काठमाडौंको शंखधर पार्क (रत्नपार्क)मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको प्रतिमा अनावरण गरिएको छ।

गागरिनको ८५औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौं महानगरपालिकाका प्रमूख विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्त रुपमा प्रतिमा अनावरण गरेका हुन्। युरिगागरिनको अन्तरिक्ष यात्राको पोसाकमा कुममाथिको भाग अनावरण गरिएको हो।

उक्त प्रतिमा अनावरण कार्यक्रममा बोल्दै महानगर प्रमूख शाक्यले शंखपार्कलाई मनोरञ्जन लिने मात्र होइन अध्ययनका लागि पनि उपयुक्त बनाइने बताए।

प्रमूख शाक्यले आपसी हित र गागरिनको जीवनले जोडेको अन्तर्रा्ष्ट्रिय सम्बन्धमा चर्चा गर्दै भने, ‘२७ वर्षको उमेरमा अन्तरिक्षको यात्रा गरेर ३४ वर्षको उमेरमा मृत्युवरण गरेका गागरिनको जीवन पद्धति युवा सशक्तीकरणको उदाहरण हो ।’

कार्यक्रममा अन्तरिक्षयात्री भिक्टोरले नेपालको बृहत्तर विकासमा रसिया प्रविधिमा सहयोग गर्न तयार रहेको बताएका थिए। कार्यक्रममा नेपालका लागि रसियाका कार्यवाहक राजदूत युरी युझाननोभ पनि सँगै थिए।

उनले काठमाडौं महानगरसँग साझेदार बन्न पाएकोमा खुसी व्यक्त गरे। त्यस्तै रसियन कल्चर सेन्टर फर साइन्स एण्ड कल्चरका निर्देशक युलिया एन्ड्रोशोभाले आपसी सम्बन्ध विस्तारमा सेन्टरले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।

साढे ६ फिट उचाइ र ५ फिट चौडाइमा निर्माण गरिएको अक्षले घेरेको पृथ्वी र त्यसको छेउमा ठड््याइएको स्तम्भमा गागरिनको कुममाथिको मूर्ति राखिएको छ । बाहिरी डाँछी अपा इटाले नेपालीपन प्रदान गरिएको यो शैली महानगरकी आर्किटेक्ट प्रमिला पराजुलीले बनाएकी हुन्।

यसलाई सुन्दरता प्रदान गर्न स्तम्भ र अक्ष अगाडि सानो ठाउँमा गमला र फूल राखिएको छ । यो संरचना तयार पार्न करीब ३ लाख १५ हजार रुपैयाँ लागेको आर्किटेक्ट पराजुलीले बताइन्। यसमा राखिएको मूर्ति भने रसियन कल्चर सेन्टरबाट उपहारस्वरुप प्राप्त भएको हो।

पहिलो अन्तरिक्ष यात्री गागरिनले सन् १९६१ अप्रिल १२ तारिखका दिन अन्तरिक्षको यात्रा गरेका थिए। त्यस यात्राका क्रममा उनले १०८ मिनेट पृथ्वीको परिक्रमा गरे ।

यस यात्राका लागि त्यहाँका २०० जना विमान चालक छनौट भएका थिए। तीमध्ये कठिन समयमा जटिल खालको तनाव र चाप थेग्न सक्ने भएकोले गागरिन यात्राका लागि चयन भएका थिए । ९ मार्च १९३४ मा रसियामा जन्मिएका गागरिनको सन् १९६८ मार्च २७ तारिखका दिन मृत्यु भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्