वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा केडिया

Birgunj
लाेकपाटी न्यूज
0 Shares

नीरज पिठाकोटे/वीरगन्ज, २९ पुस । नेपालको निजी क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल केडिया निर्विरोध चयन भएका छन् ।

३५ जना कार्यसमितिमा आइतबार सम्पन्न संघको निर्वाचनमा पदाधिकारीहरुमा कोषाध्यक्षबाहेक सबै निर्विरोध निर्वाचित भएका छन् । संघको प्रथम उपाध्यक्षमा सुवोध गुप्ता, द्वितीय उपाध्यक्षमा अनिल कुमार पटवारी, महासचिवमा माधव राजपाल, सचिव वाणिज्यमा अरविन्द अमात्य, उद्योगतर्फ मनोज दास चयन भएका छन् । त्यस्तै सहसचिव वाणिज्यमा प्रेमचन्द्र गोयल र उद्योगमा आशिष लाठ सहकोषाध्यक्षमा गोविन्द कुमार साह चयन भएका छन् । कोषाध्यक्षमा रविन्द्र कुमार वर्णवाल निर्वाचित भएका छन् ।

पदाधिकारीहरुमा कोषाध्यक्षका लागि भने दिपक डिवडेवाल र रविन्द्र कुमार वर्णवाल दुईजनाको उम्मेदवारी परेपछि मतदान प्रक्रियामार्फत कोषाध्यक्ष चयन गरिएको हो । कार्यसमितिका ३५ जना मतदाता रहेकोमा वर्णवालको पक्षमा २० मत र डिवडेवालको पक्षमा जम्मा १२ मत मात्रै खसेको थियो । मतदानमा तीनजना अनुपस्थित रहेको निर्वाचन अधिकृत अधिवत्ता बालमुकुन्द खरेलले जानकारी दिए । आर्थिक राजधानी भनेर चिनिने वीरगञ्जको अर्थकर्मीहरुको छाता संगठन वीरगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनलाई निकै महत्वका साथ हेरिने गरिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्