स्वतन्त्रता छ भन्दैमा आँखा घोच्ने गरी हात फैलाउन हुन्न : मन्त्री ज्ञवाली

Pradeep_gyawali
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले मानव अधिकार हनन हुनेगरि कुनैपनि विधेयक नल्याएको बताएका छन्। राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले संसदमा पेश भएका विधेयकले मानवअधिकार हनन नगर्ने दाबी गरेका हुन्।

संसदमा पेस भएको सूचना प्रविधि सम्बन्धि विधेयकलाई संकेत गर्दै मन्त्री ज्ञवालीले मानव अधिकारलाई संकुचित पार्छ भन्ने चिन्ता व्यक्त भइरहेको बताउँदै मानव अधिकारका सिद्धान्त, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने मनसाय सरकारको नभएको बताए।

उनले स्वतन्त्र छु भन्दैमा अरु कसैको आँखा घोच्ने गरी हात फैलाउने किसिमले मानव अधिकारको व्याख्या गर्न नहुने समेत बताए। ‘अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा अर्काको मानव अधिकारलाई हनन गर्ने अधिकार संविधानले पनि दिएको छैन,’ उनले भने, ‘स्वतन्त्र छु भन्दैमा अरू कसैको आँखा घोच्ने गरी हात फैलाउने किसिमले मानव अधिकारको व्याख्या गर्न हुँदैन।’

संविधानले निर्दिष्ट गरेका मानव अधिकारका विषयलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय रूपमा समेत विस्तार गर्ने रचनात्मक भूमिका खेल्न सरकार तयार रहेको मन्त्री ज्ञवालीको भनाइ थियो। उनले कसैलाई देखाउन तथा सन्तुष्ट पार्नका लागि मात्र मानव अधिकारको कुरा गर्न नहुने बताए। मानव अधिकार, शान्ति र विकासलाई एकसाथ लैजान नसके मानव अधिकार सुनिश्चित हुन नसक्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्