उज्यालोकोे खोजी र प्रयासको विमोचन

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ असार । कवि, गजलकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को सार्वजनिकरण गरिएको छ ।

अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाजल परिर्वतनमा अहम् भूमिका खेल्ने बताए । गजलकार रावलले साहित्यका अन्य बिधाजस्तै गजलको रचना र संरचना प्रक्रियालाई समय क्रमसँगै श्रष्टाहरुले आफू अनुकुल व्याख्या गर्ने गरेको र रचना गर्न थालेको धारणा राखे ।

प्रमुख अतिथिको आसनबाट बोल्दै बरिष्ठ गजलकार रावलले नेपाली शब्द हुँदाहँुदै आयातित शब्द प्रयोग नगर्न सबै गजलकारलाई आग्रह गरे । आयातित शब्द प्रयोग गर्दा नेपाली भाषा र साहित्यमाथि अन्याय हुने हुनाले त्यस्ता शब्द प्रयोग नगर्दा नै राम्रो हुने सुझाव दिँदै उनले साहित्यकारले समाजमा भएका तमाम विकृति र बेथितिविरुद्ध लेख्नुपर्ने बताए ।

रुवाइ, गीत र गजल संग्रहका लेखक प्रदीप थापाले लेखन विधामा एकदम कलिलो भएपनि लेखनमा निरन्तर लागिरहने बताए । लेखक थापाले रचनामा माया प्रेम सम्बन्धि बढी लेखिने भएकाले आफूले पनि यस्तै विषयलाई बढी जोड दिएको बताए ।

‘उज्यालोको खोजी’ संग्रहकी लेखक आस्था केसीले आफू १५÷१६ वर्षको किशोरी अवस्थामा जनयुद्धमा लागेको र त्यही समयबाट नै गीत, कविता र गजल पढ्न र लेख्न थालेको बताइन् । उनले आफूले गजल विधाको औपचारिक रुपले अध्ययन नगरे पनि हिजोका आँधी, हुरीमय जनयुद्धकालीन मुक्ति यात्रामा गजल लेख्न सिकेको बताइन् । जनयुद्धको मुक्ति यात्रामा देखेका सपना आंशिक रुपमा मात्र पूरा भएको बताउँदै उनले राजनीतिक रुपमा प्राप्त परिवर्तनलाई व्यवहारमा लागू गर्न नसक्नु बिडम्बना भएको धारणा व्यक्त गरिन् ।

पुस्तक तथा एल्बममाथि गजलकार तथा समालोचक प्रभाती किरण, ज्ञानु विद्रोही, शैलेन्द्र अधिकारी, डा. भोजराज अधिकारी, विश्लेषक नरेन्द्रजंग पिटर लगायतले बोलेका थिए । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका नेपाल च्याप्टर संयोजक भरत पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले गरेका थिए ।
पुस्तक कन्दरा पब्लिकेसन्सले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्