मिर्चैयामा विद्युत चुहावट शून्य प्रतिशत

रासस न्यूज
1 Shares

लहान, २१ साउन । केही वर्षअघिसम्म अत्यधिक विद्युत् चुहावट हुँदै आएको सिरहाको मिर्चैया क्षेत्रमा यसवर्ष चुहावट शून्य दशमलव ४५ प्रतिशतमा झरेको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख शिवराम यादवका अनुसार चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि ९ दशमलव ७२ प्रतिशतबाट शून्यमा झारिएको हो । आर्थिक वर्ष २०७३/७४ सम्ममा ९ दशमलव ७२ प्रतिशत विद्युत् चुहावट हुँदै आएको थियो ।

यस्तै समयमै विद्युत् महसुल नबुझाउने एक हजार ३३५ ग्राहकको विद्युत् लाइन आव २०७४/७५ मा काटिएको यादवले बताए । बाँकी बक्यौता रकम समयमा नबुझाएका तथा पटकपटक महसुल बुझाउन आग्रह गर्दा पनि बेवास्ता गर्ने ग्राहकको लाइन काटिएको यादवको भनाइ छ । विद्युत् लाइन काटिएका एक हजार ५३ ग्राहकबाट रु. दुई करोड ५६ लाख १३ हजार पुरानो बक्यौता रकम संकलन गरिएको छ ।

वितरण केन्द्र मिर्चैयाले आव २०७४/७५ मा अंकुश लगाएर विद्युत् चुहावट गर्ने १९३ जनालाई पक्राउ गरी कार्वाही गरेको छ । कार्वाही गरिएकाबाट रु. आठ लाख २८ हजार राजश्व संकलन गरिनाका साथै २०० भन्दा बढी विद्युत् उपकरण बरामद गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्