‘महङ्गी र कर तत्काल नियन्त्रण गर्नुपर्छ’ : प्रचण्ड

Prachanda-2
लाेकपाटी न्यूज
0 Shares

भदौ १, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अहिलेको सरकार जनताको सरकार भन्ने विश्वास दिलाउने गरी जनमूखी काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा अयोजित नेपाल मण्डल पर्यटन महोत्सव २०७४–७५ ‘टिष्टा–काँगडा नेपाल एकीकरण, वीर योद्धाहरुको सम्झना र सम्मान’ विषयक राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै प्रचण्डले भने, ‘निर्वाचनपछि सरकार गठन भएको झण्डै ६ महिना हुन लाग्यो, कता कता जनताले सोचे जस्तो नहुने पो हो कि ? महंगी बढेको कुरा, कर बढेको कुरा र सरकारका कामकारबाहीहरु जनताले सोचेजस्तो भएनन् भन्ने गुनासो आएको छ । यो जनताकै सरकार हो र जनताकै निम्ति समर्पित छ भन्ने विश्वास दिलाउने दायित्व हाम्रो काँधमा छ ।’

‘मैले हिजोमात्रै प्रधानमन्त्रीजीसँग यी विषयमा हामीले समीक्षा गर्न जरुरी छ भनेको छु । हाम्रो सरकारका, हाम्रा मन्त्रालयका कामहरु, हाम्रो बजेटसँग सम्बन्धित कामहरुमा केही करेक्सन गर्न आँट पनि गर्नुपर्छ,’ प्रचण्डले भने ।

सरकार जनताका गुनासा र आकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै प्रचण्डले भने, ‘अहिले हामी त्यो समीक्षाको प्रक्रियामा पनि छौं र जनआवाजलाई गम्भीरतापूर्वक विचार गर्ने प्रक्रियामा पनि छौं ।’

प्रचण्डले राजतन्त्र फालेर गणतन्त्र ल्याउन सबैभन्दा ठूलो संघर्ष, त्याग र तपस्या गर्ने व्यक्तिहरुलाई पहिलो राष्ट्रपति र उपराष्ट्रपति बनाउन नसकेकाले जनताले परितर्वन अनभुत गर्न नपाएको समेत बताए ।

प्रचण्डले भने, ‘अहिले हामीले जे अप्ठ्याराहरु र जे उतारचढावहरु देखिरहेका छौं । यति ठूलो संघर्ष र यति ठूलो बलिदानपछि आएको परिवर्तन जनताले राम्रोसँग आफ्नो जीवनमा अनभूत गर्न पाएका छैनन् । यस्तो किन भयो भनेर हेर्यो भने यो परिवर्तनका लागि सबैभन्दा बढी संघर्ष गर्ने व्यक्तिलाई किन गणतन्त्र नेपालको पहिलो राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित गर्न सकेनौं भन्नेतिर पनि सोच्नुपर्ने हुन्छ ।’

कार्यक्रममा संस्कृतिविद एवं युग पुरुष सत्यमोहन जोशी, पत्रकार भैरव रिसाल, नेत्री शान्ता श्रेष्ठ, गायक जीवन शर्मा, जेबी टुहुरे, कलाकार नवल खड्का, संगीतकार बीबी अनुरागी लगायतका आफ्नो क्षेत्रमा राष्ट्रका लागि योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रचण्डले सम्मानपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्