मोदी–प्रचण्डबीच वार्ता, यी हुन् प्रचण्डले उठाएका मुद्दा

Modi-Prachand1
फाइल तस्बिर
लाेकपाटी न्यूज
0 Shares

नयाँ दिल्ली, २३ भदौ । भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार दिउँसो भेटवार्ता भएको छ । भेटका अवसरमा मुख्यतः पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणहरु, बिम्स्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावनाबारे छलफल भएको थियो ।

वार्तामा नेपालमा हाइड्रो इनर्जीको विकास, हुलाकी मार्गको निर्माण, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको विषयमा छलफल भएको थियो ।

धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक बृहत्तर सर्किट बनाउने र एभरेष्टको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य गर्ने बारेमा पनि मोदी र प्रचण्डबीच छलफल भएको थियो । त्यसैगरि नेपाल भारत सीमामा रहेका समस्याहरुको समाधान र सीमा क्षेत्रमा भन्सारहरुको स्तरोन्नतिका विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

वार्तामा दुई देशको आपसी हित कसरी सुदृढ गर्ने भन्ने विषयमा छलफल गर्दै पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भएका सकारात्मक समझदारीहरु र सहमतिहरुलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने बारेमा छलफल भएको थियो ।

यसका साथै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भारतसँग गरिएका सहमतिहरु, खासगरि, कास्की जिल्लामा पोलिटेक्निकल इस्टिच्युट स्थापनामा भारत सरकारले सहयोग गर्ने भन्ने विषयमा पनि ठोस रुपमा कुराकानी भएको थियो । झण्डै एक घण्टा भएको छलफल सकारात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको सचिवालयले जनाएको छ ।

विदेश मन्त्री स्वराजसँग भेटवार्ता

अध्यक्ष प्रचण्डको भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग पनि भेटवार्ता भयो । भेटका आवसरमा कम्युनिष्ट पार्टीहरुको एकतासँग सम्बन्धित र दुई तिहाईको सरकार बनेपछि नेपाल भारत सम्बन्धमा भएका विकासका प्रयासबारे कुराकानी भएको थियो ।

पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता

भारतीय काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग शनिबार दिउँसो भेटवार्ता भएको थियो । भेटमा मनमोहन सिंह प्रधानमन्त्री भएका बेला भएका समझदारी, छलफल र नेपालमा शान्ति प्रक्रियालाई अगाडि बढाउन उउको नेतृत्वको सरकारबाट भएको सहयोगप्रति अध्यक्ष प्रचण्डले धन्यवाद दिएका थिए ।

नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माण भई सकेपछि देश विकास निर्माणतिर ध्यान केन्द्रित गरेकोप्रति नेता सिंहले खुसी व्यक्त गरेका थिए । भेटमा सिंहले रकारमा नभए पनि नेपालको विकास निर्माणमा आफूहरुको पूर्णतः सहयोग रहने बताएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्