चौबीस घण्टाभित्र उद्धार, ९६ घण्टाभित्र राहत

dhanka dhakal
लाेकपाटी न्यूज
0 Shares

लमजुङ, ३० भदौ । जिल्लामा गत भाद्र २७ गते आएको बाढी, पहिरोबाट प्रभावित परिवारलाई जिल्ला प्रशासन कार्यालय लमजुङले राहत वितरण गरेको छ ।

बाढी पहिरोमा परी मृत्यु भएका ४ जनाका परिवार र विपदको कारण घर क्षति भएका १२ परिवारलाई प्रकोप पीडित उद्धार र राहात सम्बन्धि मापदण्डअनुरूप राहत वितरण गरेको हो । प्रतिकूल मौसम, सयौं स्थानमा सडक अवरूद्ध भएको अवस्थामा समेत राहत वितरण कार्यलाई उच्च प्राथमिकता दिई राहत रकम पीडितको घर आँगनमा समयमा नै पुर्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राहत वितरणसँगै अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालय, दमौलीबाट शुरूवातदेखि नै प्रयास तीब्र पारिएकोमा खरखरे, खुदी र भुलभुलेतर्फका पहिरो हटाइसकिएको छ जसबाट बेशीशहरदेखि ङादीसम्म सडक सुचारु भएको छ । बेशीशहर चामे सडक खण्डको रामबजारबाट उत्तरतर्फको अवरुद्ध सडकसमेत खुलिसकेको छ ।

शनिबार ङादीदेखि अर्खलेतर्फको सडक खुलाउने प्रयास भइरहेको छ भने प्रशासनले उत्तरी क्षेत्रमा वि.पी.सी.द्धारा प्रवद्र्धित विद्युत आयोजनाको मेशिन उपकरण प्रयोग गरी रामबजारबाट घोप्टेभिर काभ्रेभिर हुँदै अर्खलेतर्फको अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ । अर्खलेबेशी नजिकको खोलामा ठूलो ढुंगाले सडक अवरुद्ध गरी निर्माणका लागि माथितर्फ लैजानुपर्ने मेशिन लैजान नसकिएको प्रमूख जिल्ला अधिकारी झंक ढकालले जानकारी दिए । विष्फोट गराई उक्त ढुंगा फोर्ने तयारी भइरहेको ढकालले बताए ।

जिल्ला विपद व्यवस्थापन समितिबाट खटिएको प्रहरी नायव उपरीक्षक यादव ढकालको नेतृत्व र सहायक प्रमूख जिल्ला अधिकारी मनोहर थापासहितको टोलीले शनिबार विपदबाट मस्र्याङदी गाउँपालिका वडा नं. ४ मा मृत्यु भएकी विष्णुकली गुरुङका परिवारलाई घटना भएको स्थानमा पुगी रु. एक लाख राहत वितरण गरेको छ । यसै गरी मस्र्याङदी गाउँपालिका वडा नं ४ रामबजारमा बाढी पहिरोले घर बगाएका जीत बहादुर गुरुङ र विन कुमारी गुरुङलाई जनही रु. ५० हजारका दरले राहत रकम घरमै पुगेर प्रदान गरिएको र विपदबाट घर क्षति भएका विनु गुरुङलाई रु. २५ हजार राहत प्रदान गरिएको प्रजिअ ढकालले जानकारी दिए ।

मस्र्याङदी गाउँपालिका–६ बाहुनडाँडाका पहिरोका कारण घर क्षति भएका परिवारलाई क्षतिका आधारमा राहत रकम प्रदान गरिएको छ । यसैगरी पहिरोले घर जोखिममा परी बस्न नमिल्ने भई अन्यत्र सार्नुपर्ने भएका गिरबहादुर परियारलाई रु. ५० हजार, घर क्षति भएका चन्द्रकान्त घिमिरेलाई रु. २५ हजार, बाबुराम परियार र सुकलाल विकलाइ जनही रु. १० हजार र आंशिक रुपमा घर र अन्य संरचना क्षति भएका भक्त बहादुर वि.क., पूर्ण कुमारी वि.क., र आइतमान वि.क.लाई जनही रु. ५ हजारका दरले राहत रकम वितरण गरिएको छ ।

प्रशासनले पहिरोबाट प्रभावित २६ परिवारलाई जिल्ला प्रशासन कार्यालय, लमजुङ र मस्र्याङदी गाउँपालिका–६ का जनप्रतिनिधिसँगको समन्वयमा न्यादी जलविद्युत आयोजनाबाट प्रतिपरिवार ३० केजीका दरले ७८० केजी चामल, ४ केजीका दरले १०४ केजी दाल, १ लिटरका दरले २६ लिटर तेल, १ केजीका दरले २६ केजी नून वितरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी, लमजुङ शाखाबाट शनिबार बाहुनडाँडा, रामबजार, अर्खलेबेशी लगायतका स्थानका प्रभावित १८ परिवारलाई त्रिपाल, कम्मल, भाँडाकुँडाको सेट राहतस्वरुप वितरण गरिएको छ ।

विपद प्रारम्भिक द्रूत लेखाजोखाबाट प्राप्त क्षतिको विवरणको आधारमा राहत वितरण कार्य सम्पन्न गरिएको हो । बहुक्षेत्रगत प्रारम्भिक द्रूत लेखाजोखा र क्षेत्रगत रूपमा भएको क्षतिको विवरण प्रस्तुत गर्नका लागि सम्बद्ध निकायलाई जिम्मेवारी प्रदान गरिएको छ ।

विवरण प्राप्त हुनासाथ शीघ्र पुनःलाभ कार्यक्रम सञ्चालन गरिने प्रशासनले जनाएको छ । विपदका बेला उद्दार र राहतमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिएको प्रजिअ ढकाले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्