कथावस्तु र अभिनयमा मौलिकता चाहिन्छ : नायिका बिमला केसी

bimala kc
लाेकपाटी न्यूज
0 Shares

नायिका तथा निर्माता बिमला केसी विगत दुई दशकदेखि चलचित्र उद्योगमा क्रियाशील छन् । देवयानी, शहिद, दलाल लगायत दर्जनौं सिनेमा र टेलिफिल्महरुमा अभिनय गरेकी केसीको आफ्नै शहिद फिल्मस् प्रा.लि. पनि छ । उनी हाल चलचित्र जाँचपास समितिको सदस्य र नेपाल चलचित्र कलाकार सङ्घको केन्द्रीय कोषाध्यक्षका रुपमा कार्यरत छिन् । प्रस्तुत छ नेपाली फिल्मको अवस्था, चूनौति र गुणस्तरबारे केसीसँग गरिएको कुराकानी–सम्पादक ।

दर्शकहरुको हिन्दी र अङ्ग्रेजी चलचित्रप्रति बढी रुचि देखिन्छ । नेपाली चलचित्रले दर्शक पाउन नसक्नुको खास कारण के हो ? नेपाली दर्शकलाई नेपाली चलचित्रप्रति नै रुचि जगाउन के गर्नुपर्ला ?

उत्तर :– खुल्ला बजारमा विश्व बजारमा खुल्ला प्रतिस्पर्धा हुन्छ । हामीकहाँ बजार सानो छ, त्यसको असर नेपाली चलचित्रमा परिरहेको छ । दोस्रो कुरा, कलाकारहरुले चलचित्र उद्योगमा नै भविष्य देख्ने परिस्थिति नबनेसम्म गुणस्तरीय चलचित्र बन्न कठिन हुन्छ । हामीकहाँ रुचि र दक्षता कला क्षेत्रमा भएर पनि जीवन धान्न अन्य पेशा रोज्नुपर्ने बाध्यता छ । त्यसैले पनि निर्माताहरु ठूलो लगानीमा जोखिम मोल्दैनन्, यसको असर नेपाली दर्शकहरुमा परेको देख्छु ।

हुन त कला, साहित्यको राष्ट्रिय घेरा हुँदैन । तर, पनि हामीले राष्ट्रिय संस्कृतिको विकास गरेर दर्शकहरुलाई नेपाली फिल्म हेर्न र माया गर्न अभिप्रेरित गर्नुपर्छ । अर्को कुरा, भाषा नेपाली भएर मात्र त्यो नेपाली चलचित्र हुँदैन । नेपाली मनोविज्ञान, नेपाली कथावस्तु, नेपाली जनजीवन र सामाजिक बनोटलाई बुझ्नु अनिवार्य छ । नेपाली चलचित्रको स्वत्वमाथि व्यापक बहस जरुरी छ, यसले मात्रै हाम्रो चलचित्रको दिशा स्पष्ट पार्न सक्छ । हामीलाई नक्कल होइन, नयाँपन चाहिन्छ ।

चलचित्र क्षेत्रका बिकृति सुधार गर्न के–के गर्दै हुनुहुन्छ ?

उत्तर :– नेपाली चलचित्रमा पनि थुप्रै सीमा र बिकृतिहरु छन् । ती सबै सुधार गर्ने कुरा हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन । हामीले केवल निर्माण भइसकेका चलचित्रहरुको अनुमतिबारे निर्णय लिन्छौं । कतिपय दृश्य र सम्वाद हामीले काट्दैमा सबै बिकृति सुधार हुँदैन । निर्माताले करोडौं लगानी गरिसकेको चलचित्र पूरै रोक्दा पनि कठिन नै हुन्छ । नेपाली चलचित्रका कथावस्तु, सम्वाद र अभिनयबारे संहिता चाहिन्छ । त्यसका लागि हाम्रो राष्ट्रिय संस्कृतिको मार्गचित्रबारे गम्भीर बहस र समीक्षा जरुरी छ ।

पछिल्लो समय नेपाली सिनेमामा अश्लिल दृश्य र कथावस्तुले ठाउँ पाइरहेको छ, यसलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?

उत्तर :– पहिलो कुरा, अश्लिल सिनेमा कहिल्यै पनि नेपाली दर्शकको रोजाइमा परेनन्, तिनीहरु टिकेनन् र स्थापित हुन पनि सकेनन् । यो कुरा निर्माता र निर्देशकले बुझ्नुपर्छ । दोस्रो कुरा, अश्लिल सिनेमालाई निरुत्साहित गर्न दर्शकको ठूलो हात हुन्छ, दर्शकको भीड नलागेको कथावस्तुमा चलचित्र बनाउने हिम्मत निर्माता/निर्देशकले पनि गर्दैनन् । तेस्रो कुरा, समाजमा गलत सन्देश जाने, बिकृतिलाई प्रोत्साहन गर्ने चलचित्र र त्यस्ता सम्वाद एवं दृश्यहरु हामीले रोकिरहेका छौं र रोक्छौं । चौंथो कुरा, राज्यले त्यस्ता फिल्महरु रोक्न ठोस कानून ल्याउनुपर्छ ।

तपाईंको विचारमा नेपाली चलचित्रले राष्ट्रका लागि खास के योगदान गरेको छ ?

उत्तर :– चलचित्र उद्योग राष्ट्रका लागि गौरव हो । नेपाली चलचित्रले देशको राष्ट्रिय संस्कृति, भेषभुषा, सभ्यता, भाषा, विविधता लगायतलाई प्रवद्र्धन र अभिप्रेरित गरेको छ । यसले देशलाई एकतावद्ध राख्न सन्देश दिँदै आएको छ । समाज, संस्कृति, सभ्यता, नैतिकता, कला–साहित्य र प्रगतिमा सकारात्मक सन्देश दिनु यसको दायित्व हो । यसमा नेपाली सिनेमाले योगदान नै गरेको छ । चलचित्र आफैमा एउटा ठूलो उद्योग हो । यसमा अरबौं लगानी छ, हजारौं नागरिकले यस उद्योगबाट रोजगारी पाएका छन् । यो पनि राज्यका लागि महत्वपूर्ण योगदान हो ।

तपाई चलचित्र जाँचपास समितिमा आएपछि के–के काम गर्नुभएको छ, थप के गर्ने योजनामा हुनुहुन्छ ?

उत्तर :– जाँचपास समितिमा बसेर हामीले सयौं नेपाली, हिन्दी र अङ्ग्रेजी चलचित्रहरुको स्वीकृति दिएका छौं । यस क्रममा हामीले राष्ट्रिय एकतामा दख्खल पुग्ने, नेपालको स्वाभिमानमा आँच पुग्ने, जातीय सद्भाव एवं पहिचानमा प्रतिकूल असर पार्ने र समाजमा गलत सन्देश दिने खालका कतिपय चलचित्रहरु प्रदर्शनमा रोक लगाएका छौं । कतिपय चलचित्रका सम्वाद र दृश्यहरु हटाएका छौं । यो हाम्रो नियमित काम नै हो ।

सबैभन्दा महत्वपूर्ण कुरा यसअघि जाँचपास समितिको आफ्नै कार्यविधि थिएन । छलफल गरेर हामीले नयाँ कार्यविधि तयार पारेका छौं । यसले चलचित्र नियमनका क्षेत्रमा महत्वपूर्ण दिशानिर्देश गर्ने हाम्रो विश्वास छ । यसैगरी चलचित्र कलाकार सङ्घमा रहेर हामीले कलाकारहरुलाई प्रोत्साहन, क्षमता अभिवृद्धि, राष्ट्रिय चलचित्र नीतिसम्बन्धि नीतिगत सुझाव लगाएका महत्वपूर्ण काम गरेका छौं । आगामी दिनमा पनि चलचित्र क्षेत्रको विकास र कलाकर्मीहरुको हितका पक्षमा हामी निरन्तर लागिरहन्छौं ।

नेपाली चलचित्रको विकास र कलाकर्मीको भविष्यका लागि राज्यले खेल्नुपर्ने भूमिकाबारे के भन्नुहुन्छ ?

उत्तर :– कलाकारहरुले चलचित्रमा नै आफ्नो भविष्य देख्ने परिस्थितिको निर्माण हुनुपर्छ । कला, संस्कृतिका क्षेत्रमा राज्यले उचित लगानी गर्नुपर्छ, लगानी नगरी प्रतिफलको अपेक्षा गर्नु पनि हुँदैन । कलाकारहरुको वर्गीकरण गरी उनीहरुको जीवनवृत्तिको व्यवस्था राज्यले गर्नसके गुणस्तरीय चलचित्र निर्माणका लागि वातावरण सहज बन्छ ।

बक्स अफिस कत्तिको प्रभावकारी भएको छ, यसबारे के भन्नुहुन्छ ?

उत्तर :– बक्स अफिस अभ्यासको प्रारम्भिक चरणमा छ । प्रयोगमा आइसकेपछि यसका उपलब्धि र सीमाबारे समीक्षा होला । यसबारे अहिले नै समीक्षा गर्ने बेला भएको छैन ।

अन्तिममा पाठकहरुलाई यहाँको केही भन्नु छ कि ?

उत्तर :– आजका दर्शक आफै पनि चलचित्रको समीक्षा गर्न सक्षम हुनुहुन्छ । तपाईंहरुले चलचित्र हेर्ने मात्र नभएर राम्रो चलचित्र निर्माणका लागि निर्माता, निर्देशक र कलाकारहरुलाई आफ्नो सुझाव दिनुस्, घच्घचाउनुस् र नेपाली चलचित्रलाई माया गर्नुस्, यही अनुरोध गर्न चाहन्छु ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्