चन्द्रमामा पर्यटक लैजान स्पेसएक्सको यस्तो तयारी

लाेकपाटी न्यूज
0 Shares

स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ । अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थानविन्दु हो । स्पेसएक्सले यसबारेमा थप विवरण सार्वजनिक गरेको छैन ।

टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलोपटक भने होइन । क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो ।

सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो ।
स्पेसएक्सले हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ । स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ । तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो ।

अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले कहिल्यै सार्वजनिक गरेको थिएन ।
स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ ।
मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्