नेपालले चारवटा बन्दरगाह प्रयोग गर्न पाउनु ऐतिहासिक उपलब्धि : प्रचण्ड

CMprachanda_meeting_with Tao (2)
लाेकपाटी न्यूज
0 Shares

चीन । चीनको भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख (मन्त्री) सोङ ताओबीच मंगलबार भेटवार्ता भएको छ । चिनियाँ क्रान्तिको ऐतिहासिक नगरी येनान हुँदै अर्को सहर नान्जिङ पुगेका अध्यक्ष प्रचण्डलाई प्रमुख ताओले स्वागत गरेका थिए ।

भेटमा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नयाँ विचार सिजिङपिङ विचारको विकास गरी चीनलाई नयाँ उचाइमा उठाएकोमा खुसी व्यक्त गरे ।

आफ्नो दुवै प्रधानमन्त्रीत्व कालमा भएको चीन भ्रमण र ती भ्रमणको क्रममा छलफल र समझदारीलाई स्मरण गर्दै प्रचण्डले ल्हासा–केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्गलाई विशेष जोड दिए । उक्त अवसरमा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ विषयमा छलफल भएको र आफैंले उक्त प्रस्तावमा समर्थन जनाउँदै हस्ताक्षर गरेको प्रचण्डले बताए ।

प्रचण्डले भने, “पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपलब्धीमूलक चीन भ्रमण, भर्खरै नेपाल सरकार र चीन सरकारबीच भएको ‘ट्रेड एण्ड ट्रान्जिट’ सम्झौताले दुरगामी महत्व राख्दछ । चारवटा बन्दरगाह नेपालले प्रयोग गर्न पाउनु ठूलो निर्णय हो ।”

अध्यक्षले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्वन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार र चीनियाँ सरकारबीच भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको उद्देश्य बताए ।

भेटका अवसरमा विदेश विभाग प्रमुख ताओले चीन र नेपाल अनि चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी बीचको सम्बन्ध विकासमा अध्यक्ष प्रचण्डको योगदानको प्रशंसा गर्दै धन्यवाद दिए ।

दुई सरकार (चिनियाँ सरकार र नेपाल सरकार) र दुई पार्टी (चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी) बीच भएको समझदारी र सम्झौताको शिघ्र कार्यान्वयनका साथै नेपालको आर्थिक समृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी र सरकार मद्दतको निम्ति तयार रहेको उनको भनाई थियो ।

विदेश विभाग प्रमुख ताओले भने, “तातोपानी नाका खोल्न मर्मतको काम भइरहेको छ र चिनियाँ रेल विभागले रेलमार्गका लागि अध्ययन गरिरहेको छ ।”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्