पेट्रोलियम पदार्थको विक्री वितरणमा सरकारले तोक्यो कोटा

https://lokpati.com/wp-content/uploads/2018/09/Petrol-line.jpg
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ५ असोज । उपत्यकामा पेट्रोलियम पदार्थको अभाव सुरु भएसँगै सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो ।

नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्न भनेको छ ।

निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको छ । यस्तै अन्य हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल, डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ ।

एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्रि वितरण गर्न निर्देशन दिइएको छ । मुलुकी फौजदारी ऐनले चालकलाई तोकेको जेल सजाय विरुद्ध ट्यांकरसहित चालकहरु आन्दोलित भएपछि पेट्रोलियम पदार्थको अभाव सुरु भएको हो ।

आयात रोकिएसँगै काठमाडौंसहित देशका विभिन्न क्षेत्रका पम्पहरुमा उपभोक्ताको लामो लाइन देखिन थालेको छ । इन्धनको हाहाकार मच्चिने त्रासमा धेरैले स्टक गर्न खोजेपछि निगमले वितरण प्रणालीमा नियन्त्रण गरेको हो ।
काठमाडौंमा रहेको १२० वटा भन्दा बढी पेट्रोल पम्पले केही माग भन्दा केही बढी मात्रामा पेट्रोलियम पदार्थ भणडरण गर्ने गर्दछन् । निगमले गरेको आपूर्ति र पम्पहरुको भण्डारणको स्थितीलाई हेर्दा यति चाँडै अभाव सृजना नहुनु पर्ने थियो तर विम्वना सर्वसाधारणहरु लामो लाइनमा बसेर तेल हाल्न बाध्य भए ।

पेट्रोलियम पदार्थको ढुवानीको मुख्य नाका रक्सौल डिपोबाट २ असोजदेखि एक थोपा इन्धन भित्रिएको छैन । रक्सौल डिपोबाट इन्धन आयात रोकिने बित्तिकै काठमाडौंमा सबभन्दा बढी प्रभाव देखिने गरेको छ ।
निगमसँग पर्याप्त इन्धन स्टक गर्ने क्षमता नहुँदा दुई दिन ढुवानी रोकिनासाथ बजारमा अभाव सृजना हुने गरेको छ । सामान्यतः आयात रोकिँदाको अवस्थामा पनि ७ दिनका लागि पुग्ने इन्धन स्टक रहने निगमले बताउने गरेको छ ।
तर आयात रोकिएको तीन दिन नबित्दै वितरणमा कोटा तोकेपनि निगमका निर्देशक एवं प्रवक्ता बिरेन्द्र गोइतले भने पर्याप्त इन्धन स्टक रहेको दावी गरे ।

‘दुई गतेदेखि रक्सौल डिपोबाट तेल आएको छैन, सिलीगुढी डिपोबाहेक अन्य नाकाको अवस्था पनि त्यस्तै छ’, उनले भने ।

यो कोटा प्रणाली अर्को सूचना जारी नभएसम्मका लागि भन्दै उनले हाहाकार मच्चिहाल्ने अवस्था भने नरहेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्