खाद्यान्न मूल्यवृद्धि रोक्न सांसदहरुको माग

komal oli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, ७ असोज । सांसद कोमल वलीले अनुमान र हचुवाका भरमा दशैँको मुखमा सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउन नहुनेमा जोड दिँदै सरकारले गठन गरेको समितिले वैज्ञानिक भाडादर लागू गराउनुपर्ने माग गरिन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदले चाडबाडका बेला सवारी साधन व्यवस्थित गर्न, खाद्यान्नको मूल्यवृद्धि र कृत्रिम अभाव नियन्त्रण गर्न र स्रष्टाको संरक्षण गर्न आग्रह गरे ।

सांसद खिमलाल भट्टराईले दशैँको मुखमा देशभर यातायात सेवा अवरुद्ध हुन थालेकाले नियमित सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए । चाडबाडको मौका छोपी तरकारीलगायत खाद्य सामग्रीको मूल्य वृद्धि र अभाव देखिएकाले शीघ्र समस्या समाधान गर्न उनले सुझाव दिए ।

सांसद राधेश्याम अधिकारीले सत्ता पक्षका नेताका केही दिनअघि ‘अदालतले सरकारलाई सहयोग गर्नुपर्यो’भनी सञ्चारमाध्यममा आएको समाचारले न्यायपालिकालाई सत्तारुढ दलको शाखा बनाउन खोजिएको आफूले पाएको विचार राखे ।

महाअभियोगका नाममा यसअघि नेपाली काँग्रेसले गरेको गल्ती नदोहोर्याउन उनले सरकारको ध्यानाकर्षण गराए । सांसद प्रमिलाकुमारीले सरकारले सङ्घीय समाजवादी फोरमसँग गरेको सम्झौता कार्यान्वयन गर्न माग गरिन् ।

सांसद वृषेशचन्द्र लालले जनकपुर विमानस्थल स्तरोन्नति गर्नुपर्ने औँल्याउनुभयो । सांसद रामनारायण बिंडारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई प्रदेश सरकारका मन्त्रीले नै विरोध गरेकामा आपत्ति जनाए ।

सांसद ठगेन्द्रप्रकाश पुरी, नन्दा चपाईँ, खेमराज नेपाली, रामप्रीत पासवानलगायतले स्रष्टाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । राष्ट्रियसभाको अर्को बैठक यही असोज ९ गते अपराह्न ३ बजे बस्नेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्