पाँच महिना नपुग्दै फेरियो लमजुङ प्रशासन

CDO office lamjung
लाेकपाटी न्यूज
0 Shares

लमजुङ, १३ असोज । आजभन्दा करिब ५ महिना अगाडि झङ्कनाथ ढकाल लमजुङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा आउँदा कार्यालय अस्तव्यस्त थियो । न कार्यालयको भौतिक संरचना, न कर्मचारीको व्यवहार, न कार्यालय परिसरको सरसफाइको अवस्था नै सन्तोषजनक थियो । जनताले सेवा पाउन २/३ दिनसम्म कुर्नुपर्ने, बिचौलियाको बिगबिगी, बत्ती नभएर त्यस्तै समस्या अनि कर्मचारीको समग्र व्यवहार पनि सेवाग्राहीमैत्री हुन नसकिरहेकेको अवस्था थियो ।

प्रजिअ ढकालले पहिलो जोड कार्यालयको आन्तरिक सुधारमा रह्यो । उनले कार्यालयमा देखिँदै नदेखिने अवस्थामा रहेको नागरिक वडापत्रलाई सेवाग्राहीले देख्ने बुझ्ने गरी राख्न लगाए । प्रविधिको प्रयोग गर्दै डिजिटल नागरिक वडापत्र राख्न लगाए । कर्मचारीहरूको हाजिरी गर्न डिजिटल हाजिरी व्यवस्था गरे । अनि सबै फाँटको सेवा प्रवाहको अनुगमन गर्न सिसी क्यामेरा व्यवस्था गरे ।

कार्यालयमा दशौं वर्षदेखि नफेरिएका पर्दा, सोफा कार्पेट फेरेर कार्यालयको अस्तव्यस्त भित्री भाग राम्रो बनाउन लगाए । बाहिरी भाग र परिसरमा पनि कर्मचारीकै सहभागितामा लगातार एक हप्ता लगाएर सरसफाई गराए । रंगरोगन समेत गर्न लगाए र जिल्ला प्रशासन कार्यालयलाई आकर्षक बनाए ।

भित्री सुधारको रूपमा न्यायिक निर्णय गर्न अनिवार्य रूपमा हुनैपर्ने इजलासको पनि न्यायिक निर्णय इजलासबाट गर्ने व्यवस्था मिलाए । साना बालबालिका लिएर आउने महिलाहरू खुल्ला ठाउँमा भूईंमा बसेर स्तनपान गराएको देखेपछि उनले तत्कालै स्तनपान कक्ष व्यवस्था गराए । अनि सो कक्षमा आधुनिक झोलुङगो, पङ्खा र बच्चाबच्चीका लागि खेल्ने सामग्री व्यवस्था गरे ।

कार्यालयमा बत्ती जाने समयमा समेत सेवा प्रवाह नरोकियोस भनेर इन्भर्टर सोलार सहित जेनेरेटरको व्यवस्था गरे । जिल्लामा २०७१ सालमा स्थापना गरिएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रलाई सुदृढ गरे । सो केन्द्रमा टेलिफोनको व्यवस्था गरे, सञ्चार सेट मर्मत गराई पुनः सञ्चालनमा ल्याए । उक्त केन्द्रमा आपतकालका लागि आवश्यक गैंती बेल्चा, डोरी, गमबुट र बाल्टिन सहितका सामग्री र विपदको समयमा विपद पीडितलाई बितरण गर्न १०० थान त्रिपाल र ५ थान टेन्ट पनि व्यवस्था गरे, जुन विपदको समयमा अति नै उपयोगी भए ।

श्रावणदेखि जिल्ला प्रशासन कार्यालयमा प्रत्येक आइतबार निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरी सुगर प्रेशर र अन्य स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाए । जिल्ला प्रशासनबाट सेवा लिँदा निवेदन लेख्नु नपर्ने व्यवस्था गरे भने विगतमा पासपोर्टको फाराम भर्दा रू. ५००।– लिने व्यवस्थामा रू. १७५ घटाई रू. ३२५।– कायम गराए । जनताको काम तत्कालै सम्पन्न गर्ने गरी हेल्पडेसक्स शुरूवात गरे ।

आन्तरिक सुधार सँगसँगै ढकालले जिल्लाका सबै सरकारी कार्यालयलाई आकर्षक, सेवाग्राहीमैत्री र नमूना बनाउने अभियानमा लागिरहेका छन् । अहिले लमजुङका प्रायः सबै कार्यालय परिसरमा सरसफाई गरी वृक्षारोपण गरिएको छ भने भौतिक संरचना सेवाग्राहीमैत्री बनाउँदै लगिएको छ ।

कर्मचारीहरूको व्यवहारमा पनि उल्लेख्य परिवर्तन आएको छ । सेवा प्रवाह सम्बन्धमा जनताका गुनासाहरू घट्दै गएका छन् । गुनासो तत्कालै ‘अन द स्पोर्ट’ सम्बोधन हुनुले राज्यप्रति जनताको विश्वास क्रमशः अभिवृद्धि हुँदै गएको छ । भदौ महिनादेखि स्थानीय प्रशासनको समन्वयमा सबै राष्ट्रसेवक कर्मचारी, सबै सुरक्षा निकाय अनि स्थानीय संघ संस्था जनप्रतिनिधि, व्यापारी व्यवसायीहरूको सहभागितामा बेशीशहर बजार सरसफाई अभियान सञ्चालन भएको छ ।

यस अभियानबाट बेंशीशहर बजारका सार्वजनिक स्थान पार्क सडक र आसपासको सुन्दरता अभिवृद्धि भएको छ । जनचेतना समेत अभिवृद्धि भएको छ । जनताका गुनासा सम्बोधन गर्ने सन्दर्भमा बेंशीशहरदेखि काठमाडौं सम्मको माइक्रो बसको भाडामा रू. ३८।– ठगी भएको विषयलाई तत्काल कार्वाही गरी नेपाल सरकारले तोके बमोजिमको व्यवस्था कार्यान्वयन गरिएको छ ।

विगतमा बेंशीशहरदेखि भोर्लेटारसम्मको भाडा रु. २३५।– लिइदै आएकोमा घटाएर रू. १८०।– कायम गरिएको छ भने दुइपिप्लेदेखि भोर्लेटारसम्मको भाडा रू. ६०।– बाट घटाई रु. ३०।– कायम गरिएको छ । जनताको स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका औषधि क्षेत्रमा अनुगमनलाई तिब्रता दिइएको छ । यस क्रममा विभिन्न ३८ वटा औषधि पसलको अनुगमन गरी व्यवसायीहरूलाई जिम्मेवार बनाएको छ ।

विपदबाट पीडितलाई घरमै पुगी तत्कालै राहत बितरण गर्ने परम्पराको थालनी गरिएको छ । यसबाट पीडितहरूको राज्य प्रणालीप्रति विश्वासमा अभिवृद्धि हुन पुगेको छ । पहिरोबाट जोखिममा रहेको क्षेत्रमा भूगर्वविदको टोली मगाई त्यो क्षेत्रको वास्तविक जोखिम पत्ता लगाइएको छ । विपद पीडितहरूको खोज उद्दार गरी उपचारको व्यवस्था गरिएको छ । वर्षौदेखि बन्न नसकेका पुलहरूको निर्माण कार्य अगाडि बढाई सम्पन्न हुने अवस्थामा पुर्याइएको छ ।

दोर्दी र बोराङखोलाको पुलको काम अगाडि बढिसकेका छन् । लमजुङ जिल्ला प्रवेश गर्ने प्रमुख नाकामा पहिलोपटक अस्थायी प्रहरी पोष्ट स्थापना गरी चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ । भने अवैध रूपमा मदिरा बिक्री वितरण गर्ने कार्यलाई नियन्त्रण गरिएको छ । लागू औषध नियन्त्रणको सन्दर्भमा गाँजा फडानी र दुव्र्यसनी र कारोबारीलाई कार्वाही गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्