रहस्यमय बन्दै निर्मला हत्या प्रकरण : म्याच भएन डिएन्ए रिपोर्ट

Nirmala Panta
लाेकपाटी न्यूज
0 Shares

महेन्द्रनगर, १४ असोज । बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एस्पी डिल्लीराज विष्टसहित तीनजनाको डिएन्ए ‘रिपोर्ट नेगेटिभ’ देखिएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले निलम्बित एस्पी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डिएन्ए परीक्षण गरेको थियो ।
तीनैजनाको डिएन्ए म्याच नभएको प्रहरीको भनाई छ । तीनैजनाको रगत परीक्षण गर्ने क्रममा निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग म्याच नभएको हो । कञ्चनपुर प्रहरी प्रवक्ता एवं अनुसन्धान अधिकृत कृष्णराज ओझाले तीनैजनाको डिएन्ए रिपोर्ट नेगेटिभ रहेको जानकारी दिए । ‘अनुसन्धानका क्रममा तीनैजनाको डिएन्ए परीक्षण गरिएको थियो’, उनले भने, ‘तीनैजनाको डिएन्ए म्याच भएन्।’ डिएन्ए रिपोर्ट शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पुगेको थियो ।

निलम्बित एसपी विष्टको काठमाडौंमा र अन्य २ जनाको रगतको नमूना भने कञ्चनपुर प्रहरीले संकलन गरेर प्रयोगशालामा पठाएको थियो ।
यसअघि प्रहरीले मुख्य अभियुक्त बनाएका ४१ वर्षीय दिलीपसिंह विष्ट र अर्का युवक चक्रदेब बडुको समेत डिएन्ए परीक्षण गरेको थियो । उनीहरूको डिएन्ए समेत म्याच भएन र दिलिपसिंह विष्ट रिहा भएका थिए ।

गत साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमा नजिक निम्बुखेडा खोलामा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

निर्मलाको बलात्कार र हत्या भएको ६७ दिन बितिसक्दा समेत अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। महेन्द्रनगरमा हत्यारा पत्ता लगाउन र उच्चस्तरीय छानबिन समितिले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पुनःआन्दोलन भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्