प्रदेश दुईलाई समृद्ध बनाउँछौं : मूख्यमन्त्री राउत

42756611_243673732983287_5167109595713241088_n
लाेकपाटी न्यूज
0 Shares

धनुषा, असोज । प्रदेश नम्बर दुईका मुख्य मन्त्री लालबाबु रावतले देश संघात्मक संरचनामा गइसकेपछि ‘प्रदेश नम्बर दुई, समृद्द अभियान’ सुरु भएको बताएका छन् । धनुषा चेम्बर अफ कमर्सको समुद्घाटन गर्दै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् ।

आफ्नो ठाउँको समृद्धिको अभियानका लागि केन्द्रीय सरकारमा भर पर्नुपर्ने बिगतको राज्य–व्यवस्थाको कारण देश पछि परेको कुरा उल्लेख गर्दै उनले अबको समृद्ध प्रदेश बनाउने अभिभारा आफूहरुको काँधमा आएको बताए । समृद्धिका लागि प्रदेश भित्रका सम्पूर्ण साधन–श्रोतको उचित पहिचान गरी समुचित वितरण र परिचालन गरिने उनले बताए ।

प्रदेश नम्बर दुईका उद्योगी–व्यापारीहरु आफ्नो प्रदेशको गहना भएको कुरा उल्लेख गर्दै राउतले भने, “यस प्रदेशभित्रका तपाई सम्पूर्ण उद्योगी–व्यापारीहरुले गर्ने सम्पूर्ण लगानीलाई आफ्नै प्रदेशमा केन्द्रित गर्नुहोस् । त्यसका लागि उचित वातावरण प्रदेश सरकारले बनाउने छ ।’

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कृषि, पर्यटन र उद्योगको क्षेत्रमा अब प्रदेशले फड्को मार्नुपर्ने कुरा बताए । यस प्रदेशभित्रका उद्योगी–व्यवसायीहरुले प्रदेश सरकारसँग मिलेर कृषि, उद्योग र पर्यटनको क्षेत्रमा लगानीको लागि वातावरण बनाउनलाई आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न उनले अपील गरे ।

अन्तर्राष्ट्रिय पहुँचको कोणबाट प्रदेश नम्बर दुई सबैभन्दा सहज स्थितिमा रहेको भन्दै अध्यक्ष श्रेष्ठले भने, “आन्तरिक पर्यटनको प्रवद्र्धन, कृषिमा आधुनिकीकरण र उद्योगमा वैज्ञानिकीकरण गर्नसके आन्तरिक तथा बाह्य लगानीको वातावरण बन्दै जाने र त्यसले प्रदेश नम्बर दुईलाई देशकै समृद्ध प्रदेशको रुपमा स्थापित गर्न सकिन्छ ।’

धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर शाह, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका सभापति दीपक मलहोत्रा, नेपाल चेम्बर अफ कमर्स प्रदेश नम्बर दुईका संयोजक शंकर जलन, तथा चेम्बरकै केन्द्रीय सदस्य द्वय सन्तोष पाण्डे र राम श्रेष्ठको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्