हडतालले पठनपाठन प्रभावित

Temporary Teacher
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १६ असोज । नेपाल विद्यालय कर्मचारी युनियन र नेपाल अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिले आफ्ना माग पूरा गराउन आन्दोलनमा उत्रिएका कारण सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ ।

कर्मचारी युनियनले असोज ५ गतेदेखि काठमाडौंमा रिले अनशन गरिरहेको छ भने नेपाल अस्थायी शिक्षक सङ्घर्ष समितिले हिजो सोमबार र आज दुई दिन देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

शिक्षक र कर्मचारीको पटक–पटकको आन्दोलनले विद्यार्थीको पढाइमा प्रभाब परेको छ । सरकारले विद्यालय कर्मचारीको तलब रु. दुई हजारदेखि एघार हजारसम्म तोकेर विद्यालय कर्मचारीको भविष्यमा खेलबाड गरिएको भन्दै रिले अनसन शुरु गरिएको युनियनका अध्यक्ष कमलप्रसाद खतिवडाले बताए ।

युनियनले काठमाडौंमा यही असोज २ गतेदेखि ५ गतेसम्म आन्दोलन गरेपनि सरकारले बेवास्ता गरेको आरोप लगाउँदै उनले कर्मचारीको तलब वृद्धि तथा कर्मचारीको भविष्य सुनिश्चित गर्नुपर्ने दुई बुँदे माग अघि सारेको बताए ।

त्यस्तै अस्थायी शिक्षकको पदपूर्ति नगरिएको भन्दै अस्थायी शिक्षक सङ्घर्ष समितिले दुईदिन देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेकाले ८० प्रतिशत सामुदायिक विद्यालय बन्द रहेको अस्थायी शिक्षक सङ्घर्ष समितिका संयोजक वेद अधिकारीले जानकारी दिए ।

शिक्षक सङ्गठनले अस्थायी शिक्षकलाई परीक्षामा सहभागी गराइ अहिले भएकामध्ये ७५ प्रतिशतलाई उत्तीर्ण गराउनुपर्ने भनिएकामा शिक्षक सेवा आयोगले २५ प्रतिशतलाई मात्र उत्तीर्ण गराएको सङ्गठनका अध्यक्ष हेमनाथ चौलागाईंले जानकारी दिँदै आफ्ना माग पूरा नगरे थप सङ्घर्ष जारी राख्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्