नेताहरुको सम्पत्ति राष्ट्रिकरण गर्न अभियान सुरु

building
लाेकपाटी न्यूज
0 Shares

बुटवल, १७ असोज । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेको जोसुकैको सम्पत्ति राष्टियकरण गर्न सरकारसँग माग गरेको छ ।

अभियानले नेता, कर्मचारी, न्यायाधीश, वकिल, प्रशासक सबैको स्रोत नखुलेको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्न दबाव दिन मेची महाकाली अभियान शुरु गरेको छ । अभियान मंगलबार नवलपरासी हुँदै बुटवल आइपुगेको छ ।

अभियानले मिलनचोक सडकमै पत्रकार सम्मेलन गरी जीवनमा कुनै रोजगारी र व्यवसाय नगरेका नेताहरुले भ्रष्टाचारबाटै सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्टियकरण गर्न सरकारलाई एक महिनाको अल्टिमेटम दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अभियानका संयोजक स्वागत नेपालले प्रश्न गरे, ‘जीवनभर कुनै पेशा, व्यवसाय, रोजगार नगर्ने नेताहरुसँग सरकारमा गएपछि एकाएक कसरी लाखौं करोडौंको सम्पत्ति हुन्छ ?

भ्रष्टाचारको जड र स्रोत नै राजनीतिक दलका नेताहरु भएको आरोप लगाउँदै अधिवक्ता समेत रहेका संयोजक नेपालले आफूहरुले दिएको एक महिनाको समयसीमाभित्र स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण नगरिए अभियानले त्यस्ता सम्पत्ति कब्जा गर्ने चेतावनी दिए ।

भ्रष्टाचार गरेर कालो धन कमाएका नेताहरुको सम्पत्तिबारे आफूहरुसँग विवरण रहेको उनले दावी गरे । स्रोत नखुलेको सम्पत्ति राष्टियकरण गर्ने हो भने नेपालको १० वर्षको वजेट बराबरको रकम राज्यलाई प्राप्त हुने अभियानको दावी छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्