बन्ने भयो धरहरा, कति लाग्ला लगानी ?

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १९ असोज । भूकम्पमा भत्किएको धरहरा साढे तीन अर्ब रुपैयाँ लगानीमा निर्माण हुने भएको छ । यसलाई पुरानै शैलीमा आधुनिक किसिमले निर्माण गरिनेछ । प्रधानमन्त्री केपी ओली नेपाल फर्किसकेकाले लगत्तै शिलान्यास गरेर निर्माण अघि बढाउने योजना रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव इन्जिनियर राजुमान मानन्धरले जानकारी दिए । ४२ रोपनी क्षेत्रफलमा ३ अर्ब ४८ करोडको लागतमा धरहरा निर्माण हुनेछ ।

दुई वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ निर्माण थालिएको उनले बताए । कुनै किसिमको अवरोध नभएमा दुई वर्षभित्र निर्माण सम्पन्न गरिने उनको दाबी छ । स्थानीयको गुनासोलाई सम्बोधन गर्दै परम्परा, संस्कृतिलाई खलल नहुने गरी निर्माण गरिने उनले बताए। ‘अवरोध भएन भने दुई वर्षमा निर्माण सम्पन्न हुन्छ’, उनले भने ।

निर्माणको जिम्मा पाएको जीआईईटीसी र रमन जेभीले निर्माणका लागि उपकरण, जनशक्ति र निर्माण सामग्री धमाधम ल्याइरहेको छ । ती उपकरण र सामग्री काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा राखिएको छ ।

उपकरण तथा निर्माण सामग्री राख्न नेपाली सेनासँग टुँडिखेल माग गरिएको छ। सेना सकारात्मक भएको उनले बताए । ‘केही दिनमा सेनाले निर्णय गर्छ, टुँडिखेलको दक्षिणपर्टी उपकरण र निर्माण सामग्री राखेर काम सुरु हुन्छ’, उनले भने ।

६९ दशमलव २ मिटर अग्लो २२ तले धरहरा निर्माण हुने इन्जिनियर मानन्धरको भनाइ छ । ‘अब भीमसेन थापाको पालाको जस्तै त हुँदैन, तर पुरानै शैलीमा आधुनिक धरहरा बन्छ, त्यो नभत्किने गरी बन्छ’, उनले भने । पुरानो धरहराभन्दा १० मिटर पूर्वमा आधुनिक धरहरा बन्नेछ ।

भत्किएको धरहरालाई टेम्पर ग्लासले छोपिनेछ, त्यो पर्यटकलाई हर्न खुला राखिनेछ । धरहरामा दुई लिफ्ट हुनेछन्। लिफ्ट चढ्न बिजुलीको र्भयाङबाट दुई तला तल अन्डरग्राउन्ड झर्नुपर्नेछ । प्रतिसेकेन्ड डेढ मिटर गति भएका लिफ्ट जडान गरिनेछ । धरहराको २२ तलामा पुग्न ४६ सेकेन्ड लाग्ने अनुमान छ ।

धरहरा चढ्न लिफ्टका साथै र्भयाङमा पनि हुनेछ। ‘लिफ्टमा प्राविधिक गडबडी भएमा र्भयाङबाट तल माथि गर्न पनि सकिन्छ,’ इन्जिनियर मानन्धर भन्छन् १८ तला माथि हल हुन्छ । हलभित्र भूकम्प, धरहरासम्बन्धी हर्ने पाउने भिडियो राखिएको छ । धरहराको भुइँतला ‘ग्राउन्ड फ्लोर’ रमणीय हुनेछ । तीन वटा तला अन्डरग्राउन्डमा गाडी पार्किङको व्यवस्था हुनेछ । धरहराको बाटो वरिपरि मात्रै हुन्छ ।

अहिले बीचबाट हिँड्ने गरिएको ठाउँ भने बन्द गरिनेछ । काठमाडौं मलको दक्षिणमा नयाँ बाटो बन्नेछ । धरहराको बीचको बाटो भएर शव लैजाने पुरानो परम्परालाई भने नरोकिने इन्जिनियर मानन्धर बताउँछन् । ‘लास लिएर जाने तथा नित्य पूजा गर्ने कुरालाई भने अवरोध गरिनेछैन’, उनले भने, ‘सर्वसाधारणले बीचबाट हिँड्न पाउनेछैनन् ।’

धरहरा छेउमा रहेका सुन्धारालाई पनि मर्मत गरिनेछ । ‘सकेसम्म प्राकृतिक रूपमै पानी आउने व्यवस्था गर्छौं’, उनले भने, ‘भएन भने कृत्रिम रूपमै भए पनि सुन्धारामा पानी आउने बनाउँछौं।’ टक्सार क्षेत्रमा ‘मिन्ट संग्रहालय’ बनाइनेछ । त्यहाँ सिक्का कसरी बन्छ, त्यो हेर्न पाइन्छ । साँझमा पानी फोहोरा आउने व्यवस्था गरिनेछ ।

‘मेरो धरहरा मै बनाउँछु’ अभियान जारी

भूकम्प गएको साढे तीन वर्ष भयो । भूकम्पलगत्तै प्रधानमन्त्री केपी ओलीले धरहरामा जनताको अपनत्व होस् भनेर ‘मेरो धरहरा मै बनाउँछु’ अभियान थालेका थिए । पहिलो पटक प्रधानमन्त्री हुँदा सुरु गरेको ‘मेरो धरहरा मै बनाउँछु’ अभियान अहिले निष्क्रिय छ ।
उक्त अभियानअन्तर्गत बनाइएको धरहरा पुनर्निर्माण कोषमा २४ करोड संकलन भएको छ । पहिलो पटक ओली प्रधानमन्त्रीबाट हटेसँगै त्यो अभियान निष्क्रिय हुँदै आएको हो । ‘त्यो कोषलाई लाइभ गर्छौं, मानन्धरले भने, ‘अभियानबाट करोडौं रुपैयाँ उठाउने योजना छ’, उनले भने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्