को हुन् बैंकिङ कसुरमा पक्रिएका ज्ञवाली ?

CEO Kamal Gyali
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १९ असोज । तत्कालीन किष्ट बैंकका प्रबन्ध-सञ्चालक कमलप्रसाद ज्ञवाली बैंकिङ कसुरमा साढे दुई वर्ष अगाडि उच्च अदालत पाटनले दोषी ठहराएका व्यक्ति हुन् । उनीसहित उनकी श्रीमति गौरी खनाललाई बैंकिङ कसुरमा अदालतले दोषी ठहर गर्दै तीन वर्ष जेल सजाय सुनाएको थियो ।

त्यसलगत्तै दुवै जना फरार भएका थिए । साढे १२ करोड रुपैयाँ कर्जा अपचलन गरेको मुद्दामा दोषी ठहर भएका ज्ञवाली साढे दुई वर्षपछि पक्राउ परेका छन् । कञ्चनपुरको महेन्द्रनगरमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

स्रोतका अनुसार उनलाई भारतबाट प्रक्राउ गरेर ल्याइएको दावी गरेको छ । जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट १२ करोड ५० लाख रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको मुद्दामा २०७३ असोज ४ गते तत्कालीन पुनरावेदन (अहिले उच्च) अदालत पाटनले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवाली समेतलाई दोषी ठहर गर्दै ३-३ वर्ष जेल सजाय र ६ करोड २५ लाख, ६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो।

त्यसपछि ज्ञवाली फरार भएका थिए । ज्ञवालीविरुद्ध नेपाल प्रहरीले इन्टरपोल रेड नोटिस जारी थियो। ज्ञवालीलाई पक्राउ गर्न प्रहरी निरीक्षक अनिल घिमिरे र सई रमन पण्डितको टोली भारत गएको थियो। यद्यपि प्रहरीले ज्ञवालीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको जनाएको छ। यसबारे पत्रकार सम्मेलन गरी यथार्थ सार्वजनिक गर्ने तयारी अपराध महाशाखाले गरेको छ।

ज्ञवालीकी श्रीमती भने यसअघि नै पक्राउ परेसकेकी छन् । मर्चेन्ट बैंकलाई ‘क’ वर्गको बैंक बनाउन ज्ञवालीकै विशेष योगदान थियो। उनी बैंकर संघको अध्यक्षको लागि एकपटक भिडेका थिए। तर उनको पक्षमा एक मात्रै मत आएको थियो।

निर्मला हत्याकाण्डमा संलग्न मान्छेहरु गिरफ्तार गर्न असफल भएको अभियोग लागिरहेका बेला प्रहरीले ज्ञवालीलाई गिरफ्तार गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्