‘पार्टीमा गुट बिघटनको घोषणा गरौं’ : प्रचण्ड (भीडियोसहित)

prachanda
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २० असोज । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई कसैले कमजोर पार्न नसक्ने र कमजोर पार्न नहुने बताएका छन् ।

शनिबार बिहान नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित चियापान कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हामीले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएका छौं । बामपन्थीहरुको दुईतिहाईको सरकार बनाएका छौं । विश्व राजनीतिमै यो असाधारण परिघटना हो । हामीले यो सरकारलाई बलियो बनाएर जानुपर्छ । नेकपा र सरकार कमजोर हुन्छ कि भन्ने कसैले नसोचे हुन्छ ।’

कार्यक्रममा प्रचण्डले पार्टीभित्रका विवाद समाधान हुने बताए । ‘हाम्रो बीच कुनै ठूलो विवाद छैन । केही दिनमा प्रदेश र जिल्ला तहका कमिटीको एकता टुंगाएर जान्छौं, जनवर्गीय संगठनको एकता टुंगाउँछौं । सरकार र पार्टीको एक मात्र गन्तव्य समृद्धि हो, यसमा हामी सफल हुन्छौं ।’

प्रचण्डले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘विश्वमै यति ठूलो सन्देश दिएका छौं । अब हाम्रो जिम्मेवारी पार्टीभित्र गुटबन्दी अन्त्य गर्नु हो । जनताका अपेक्षाअनुसार पार्टीलाई एकीकृत गर्नु हो । के हामीले गुटबन्दी नभएको पार्टी बनाउन सक्छौं ? हामीले सक्नैपर्छ ।’

‘म फर्केलगत्तै प्रधानमन्त्रीजीसँग छलफल सुरु भएको छ, निर्वाचनमा जनताले जसरी विश्वास गरे, त्यो विश्वासलाई हामीले सम्मान गर्नुपर्छ’ प्रचण्डले भने, ‘सरकारको समीक्षा सुरु भएको छ । केही समस्या पनि देखिएका छन् । तर, सरकार कमजोर बनाएर समस्या समाधान हुँदैन । शक्तिशाली बनाएर जानुपर्छ ।’

‘अहिले सरकार पहिलो गेयरमा छ । पहिलो गेयरमा हुँदा गाडीले स्पिड लिन सक्दैन । तर, अब हामी गेयर बढाउँछौं’ प्रचण्डले भने, ‘समृद्धिको हाम्रो प्रष्ट लक्ष्य छ, हाम्रो चुनौति त्यसलाई व्यवहारमा ढाल्ने हो । त्यसका लागि हामी सबैले मेहेनत गरौं । जनताले हामीलाई विश्वास गरे, अब जनतालाई विश्वास गरेर काम गरौं ।’

प्रचण्डले अवसरसँगै चुनौति पनि आउने भएकाले कार्यकर्तालाई संयमित भएर अघि बढ्न अपील गरे । उनले भने, ‘जहाँ ठूला सम्भावना हुन्छन्, त्यहाँ चुनौति पनि ठूलै हुन्छन् । हामीले त्यसलाई पार लगाउन सक्नुपर्छ । पार्टी एकता हुनै नदिने षड्यन्त्र चिर्यौं, सरकार असफल बनाउने षड्यन्त्र पनि चिर्छौं ।’

https://www.youtube.com/watch?v=ur0XFEkJTZE

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्