अस्ताए युवा नेता भुसाल

Kushmakhar Bhusal
लाेकपाटी न्यूज
0 Shares

पर्वत । नेकपा (क्रान्तिकारी माओवादी) का पर्वत जिल्ला सेक्रेटरी कुश्माखर भुसाल ‘आशिष’को शनिबार बिहान असामयिक निधन भएको छ । पारिवारिक स्रोतका अनुसार निमोनियाका कारण उनको ४१ वर्षको उमेरमै निधन भएको हो ।

लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका भुसाल ०५८ सालदेखि माओवादी जनयुद्धमा होमिएका थिए । भुसाल माओवादीनिकट अखिल (क्रान्तिकारी) को पूर्व जिल्ला अध्यक्षसमेत हुन् ।

अध्ययन र बहसमा रुचि राख्ने, सामाजिक गतिविधिमा निरन्तर सक्रिय भुसालको असामयिक निधनप्रति पैंयु क्षेत्रमा राजनीतिक एवं सामाजिक क्षेत्रका अगुवा र उनका समर्थकहरुले गहिरो दुख व्यक्त गरेका छन् । भुसालको निधनले ‘सिङ्गो कम्युनिष्ट आन्दोलन र सामाजिक रुपान्तरणको यात्रामा गहिरो चोट पुगेको’ उनीहरुले बताएका छन् ।

युवा नेता भुसाल शालिन स्वाभावका थिए । राजनीतिलाई निष्ठा र सम्मानित पेशा ठान्ने भुसालले सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेका थिए । सरल, मृदुभाषी र सबैसँग मिलेर काम गर्न रुचाउने भुसाल युवा पुस्ताका लोकप्रिय नेता थिए । पछिल्लो समय भुसाल निमोनियाको समस्याबाट पीडित थिए ।

यसैबीच क्रान्तिकारी माओवादी पर्वतले शनिबार एक शोक वक्तव्य जारी गर्दै भुसालको निधनप्रति शोक व्यक्त गरेको छ । जिल्ला ईन्चार्ज तेजेन्द्र पौडेलद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘२०३४ साल साउन २७ गते जन्मिनुभएका कुश्माखर भुसाल विचारमा अडिग, निष्ठावान, वर्गीय आन्दोलनको उर्जावान युवा हुनुहुन्थ्यो । उहाँको अल्पायु उमेरमा भएको निधनले परिवारजन, शुभचिन्तक, आफन्तजन एवं ईष्टमित्रहरुमा गहिरो शोक पर्न गएको छ । यस दुखद् घडीमा शोकलाई शक्तिमा रुपान्तरण गर्न शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै निमोनिया रोगको कारणले निधन हुन पुग्नुभएका भुसालप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौं ।’

भुसालको अन्तेष्टिमा क्रान्तिकारी माओवादीका स्याङजा सेक्रेटरी तिलक अधिकारी, जिल्ला सदस्य हरि तिवारी, स्थानीय वडाध्यक्ष उमाकान्त भुर्तेल, नेकपाका स्थानीय नेता ऋषिराम भुसाल, वाम बुद्धिजीवी पूर्णप्रसाद डुम्रे लगायत सहभागी थिए । भुसालको शनिबार सेतीवेणीमा अन्तेष्टि गरिएको हो ।

43188557_1148653951950584_1790764499280592896_n

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्