घेराबन्दीका बीच सरकारले धेरै राम्रो काम गरेको छ : देव गुरुङ

samparka-manch-800x390
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ असोज । सत्तारुढ नेकपाका संसदीय दलका प्रमूख सचेतक एवं स्थायी समिति सदस्य देव प्रसाद गुरुङले सरकारले सक्ने जति राम्रो गरेको दावी गरेका छन् ।

लमजुङ काठमाडौं सम्पर्क मञ्चले राजधानीमा आयोजना गरेको दशैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका राष्ट्रिय चाडहरुको सन्दर्भमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा सम्वोधन गर्दै गुरुङले स्वदेशी र विदेशी चरम घेराबन्दीका बाबजुद वर्तमान सरकारले धेरै गरेको दावी गरेका हुन् ।

‘दक्षिणतिर खुल्ला सीमाना छ, उत्तरतिर तिब्बतलाई अमेरिकाले घेराबन्दी गर्न नेपाललाई क्रिडास्थल बनाउन घुँडा धसेर लागिरहेको छ’ नेता गुरुङले भने, ‘नेपालमा शैन्य तालीम गर्न खोजिरहेका छन् र नेपालमा अस्थिरता मच्चाउन विभिन्न संघ संस्था र दलहरुमार्फत् अरबौंको लगानी गरिरहेका छन्, यस्तो बेलामा सरकारले जे गर्न खोजेको छ, त्यो धेरै राम्रो हो ।’

‘नेपालमा वामपन्थीहरु बीचको एकता र त्योभन्दा पनि कम्युनिष्टको नेतृत्वमा दुई तिहाई बहुमतको सरकार बनेको देखिसाध्य भएको छैन’ गुरुङले भने, ‘केही शक्तिहरुले सरकार विरुद्ध चर्को घेराबन्दी गरिरहेका छन् । कर्मचारीतन्त्र पुरानै ढर्रामा छ । राजनीतिक दलका नेताहरुमा गुटबन्दीको सोच छ, कार्यपालिका र न्यायापालिकाबीच चर्को विरोधाभास छ, यस्तो बेला पनि सरकारले धेरै राम्रो गरिरहेको छ । अहिले नै यसभन्दा धेरै गर्न सकिन्नँ ।’

उनले सरकारले स्थायित्वका लागि, विकास र समृद्धिका लागि, अपराध नियन्त्रणका लािग र जनतामा आशा जगाउनका लागि गरेको कार्य उल्लेखनीय र प्रशंसनीय भएको भन्दै सरकारको बचाउ गरे ।

गुरुङले विभिन्न देशी विदेशी शक्तिहरु नेकपाको नेतृत्वमा एकता हुन नदिन र फुट गराउन सक्रिय भएको समेत बताए । यदि नेताहरुले यो कुरा नबुझेर फेरि गुट र फुटको मानसिकतामा जाने हो भने नेकपाको मात्रै होइन, नेपाल राष्ट्रको स्वाभिमान नै खतरामा पर्ने गुरुङले चेतावनी दिए ।

पूर्वएमाले र पूर्वमाओवादी सम्वद्ध मञ्चको संयुक्त कार्यक्रममा पूर्वसांसद जमीन्द्रमान घले, लाल बहादुर गुरुङ, डा. भीष्म अधिकारी, नेकपा गण्डकी प्रदेश सम्पर्क मञ्चकी अध्यक्ष तारा कुमाल, प्राध्यापक ईश्वर न्यौपाने, पत्रकार सन्तोष पौडेल, मञ्चका सल्लाहकार संयोजक डिबी मजाकोटी, नेकपा लमजुङकी महिला नेतृ यशोदा रिमाल, लिलाधर सापकोटा लगायतका नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्