गोरखा-चीन नाका खोल्न पहल गरिरहेको छु : प्रचण्ड

Prachanda-2
लाेकपाटी न्यूज
0 Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तरी गोरखा हुँदै चीन जोड्ने नाका बाह्रै महिना खुलाउनेबारे चीन सरकारसँग आफूले कुराकानी गरिसकेको बताएका छन्।

आफ्नो चीन भ्रमणका बेला उत्तरी गोरखा-चीन नाका खोल्ने र केरुङ-काठमाडौं रेलवे निर्माणलाई तीव्रता दिन चीन सरकारसँग कुराकानी गरेको प्रचण्डले बताए।

‘गोरखाको उत्तरी नाका खोल्न चीनसँग कुराकानी गरिसकेको छु’, गोरखा चेम्बर अफ कमर्सले गरेको दशैं सस्तो बजार एवं सडक मेलाको शनिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘केरुङ-काठमाडौं, काठमाडौं-पोखरा रेलवे निर्माण गर्दा गोरखाको ठूलो भु-भाग रेलवेबाट जोडिन्छ।’

प्रचण्डले पालुङटार विमानस्थल सञ्चालन गर्न पहल गर्ने बताए। पर्यटनमन्त्रीसँग कुराकानी गरेर पालुङटार विमानस्थलमा जहाज चलाउन पहल गर्ने उनको भनाइ छ। ‘पालुङटार एअरपोर्ट पुन:सञ्चालन गर्न पर्यटनमन्त्रीसँग कुराकानी गर्छु’, उनले भने।

गोरखाले विश्वमा नेपाललाई चिनाएको प्रसंग निकाल्दै प्रचण्डले गोरखा दरबार, मनास्लु हिमाल, जडिबुटी भएको संभावना नै संभावना भएको जिल्ला गोरखा भएको बताए। सार्वजानिक, नीजि र सहकारी क्षेत्रको सहकार्यबाट देशको आर्थिक विकास गर्न सकिने उनले बताए।

मेला उद्घाटनमा नेकपा नेता नारायणकाजी श्रेष्ठ, सांसद हरिराज अधिकारी, गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलगायतले सम्वृद्ध गोरखा बनाउनका लागि पूर्वाधार निर्माणका क्षेत्रमा काम भइराखेको बताए। मेलामा १३० स्टलहरु रहेको चेम्बर अफ कमर्सका गोरखा अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्