स्याट्ट रुमाल-अण्डा देखाउने जादुगर हाेइनाैं : प्रधानमन्त्री अाेली

Kp sharma oli PM
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको सरकार र आफू जादुगर नभएको बताएका छन् । काठमाडौंमा आइतबार पत्रकार शुभशंकर कडेलको पुस्तक अवतरणको विमोचन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले विकासको काम जादु गरे जस्तो एकैचोटी नहुने बताएका हुन् ।

उनले भने–‘हामी जादुगर हैनौँ, जादुगरले जादू देखाएजस्तो हामी गर्न सक्दैनौँ । जादूगरले त यस्सो स्याट्ट रुमाल देखाउने गर्छ अनि स्याट्ट अण्डा पनि देखाउँछ । केही ठूलै हुन लागेको जस्तो देखाँउछ । तर हामी जादुगर जस्तो हैनौँ, आफ्नो ढंगले काम गरिरहेका छौँ ।’

विकासको काम जादुगरले जादु देखाए जस्तो तुरुन्तै नहुने भन्दै त्यसको लागि निश्चित समय लाग्ने बताउँदै उनले सरकारले काम गरिरहेको बताए । उनले ७ महिनामा सबै चिज गर्न नसकिने भन्दै सरकारले प्रदेशमा कार्यालयहरु स्थापनादेखि कर्मचारीको व्यवस्थाको काम गरेको समेत उल्लेख गरे ।

सरकार त्यतिकै नबसेको भन्दै यो अवधीमा मौलिक हकसँग सम्बन्धित आवश्यक कानून निर्माण समेत गरेको, असहज रुपमा रहेको मुलुकलाई बजेट मार्फत तङ्ग्राउने अवस्थामा पुर्याएको बताए ।

उनले प्रदेशमा अहिलेपनि कर्मचारी समायोजनको काम भइरहेको बताउँदै स्थानीय तहमा केही कमजोरी भएपनि सिक्दै काम गरिरहेको उल्लेख गरे ।
उनले भने–‘हिजो स्थानीय तह राज्यका निर्णय मान्ने अवस्थामा थिए तर आज आफैं अधिकार सम्पन्न भएका छन् । केही कमजोरी भएपनि सिक्दै काम गरिरहेका छन् ।’उनले सरकार सुशासनको क्षेत्रमा क्रियाशिल रहेको बताउँदै आफू भष्ट्राचार नगर्ने, गर्न नदिने भनेर सबैले सुन्ने गरी भन्दै आइरहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले जनताले स्थीर सरकारका लागि भोट खेर जान नदिनेगरी आफूले काम गरिरहेको उल्लेख गरे । हालै अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको बैठकमा पनि आफूले नेपालको शान्ति प्रक्रियाका बारेमा चर्चा गर्दै नेपालले मौलिक ढंगले द्धन्द्धको व्यवस्थापन गरेको विश्वसमुदायलाई अवगत गराएका बताए ।

उनले भने–‘नेपालमा हामी आफैंले द्धन्द्ध गर्र्यौ, परिवर्तन पनि हामी आफैले गर्यौँ, विकास पनि हामी आफै गर्छौँ ।’ उनले द्धन्द्धका नाममा कसैले जघन्य अपराध गरेको छ भने त्यसलाई छुट नदिने पनि स्पष्ट पारे ।

नेपालमा शान्ति प्रक्रिया स्थापित भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले द्धन्द्धका केही अवशेष रहेको र त्यसलाई पनि टुङ्ग्याउने उल्लेख गरे । उनले भने–‘द्धन्द्ध सकिएर शान्ति प्रक्रिया स्थापित हुनु महत्वपूर्ण कुरा हो, अब बाँकी यसका अवशेष पनि हामी टुङ्गोमा पुर्याउँछौँ ।’

उनले तत्कालीन माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुन नदिन पनि ठूलो षड्यन्त्र भएको बताउँदै त्यसलाई परास्त गर्न सफल भएको बताए । पत्रकार कँडेलको पुस्तक अवतरण खोजमुलक र जानकारी मुलक रहेको बताउदै पुस्तक लेख्ने कामलाई निरन्तरता दिन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्