काभ्रेकाे लिफ्टिङ प्रविधि, स्थानीयले गरे मन्त्री बीनाको प्रशंसा

Water
लाेकपाटी न्यूज
0 Shares

काभ्रेपलाञ्चोक, २२ असोज । मण्डन देउपुर नगरपालिका–११ तार्केन्टारका बासिन्दाले करीब १०० मिटर तलको इनारबाट पानी घरघरमा आउला भनेर सोचेका थिएनन् । प्रविधिका कारण नसोचेको काम सफल भएपछि तार्केन्टारका बासिन्दा निकै खुशी छन् ।

सोलार (सौर्य ऊर्जा) लिफ्टिङ प्रविधिबाट खानेपानी योजना सम्पन्न भएपछि अहिले यहाँका बासिन्दाको दैनिकी फेरिएको छ । पिउन, घरधन्दा तथा नुहाइधुवाइ गर्न दिनभरजसो एक घण्टाको उकालोमा पानी बोक्नुपर्ने बाध्यता हटेको छ भने ट्याङ्कीबाट ‘ओभर–फ्लो’ पानीले घरबारीमा तरकारी उब्जनी गर्न मद्दत पुगेको छ ।

स्थानीयवासी मइती तामाङ भन्छिन्, “नौलो प्रविधिले दिनभर उकालोमा पानी बोक्नुपर्ने बाध्यता हट्यो, घरघरमै पानी आउँदा निकै हर्षित छौँ ।” उनले घरमा प्रयोग गरिएको पानी र ट्याङ्कीबाट ‘ओभर फ्लो’ भएको पानीले तरकारीखेती गरी स्वच्छ तरकारी खान पाइएको बताइन् ।

गाउँका सबैको घरमा पानी उपलब्ध भएपछि बिहान सबेरै उठेर पानी लिन खोला धाउनुपर्ने बाध्यता हटेको स्थानीयवासी मैते तामाङले बताइन् । उनले भनिन्, “परिवारको एक जनाले त दिनभर पानी बोक्नैपर्ने हुन्थ्यो ।” अरनिको राजमार्गबाट नजिकै देखिने तार्केन्टार विकट पहाडी गाउँ हो । सत्र परिवारको ९८ जनाको बसोबास रहेको यस गाउँमा अहिले पुस्तौँदेखिको खानेपानीको समस्या नगरपालिका कार्यालय तथा दातृ निकायको सहयोगमा समाधान भएको हो ।
bina-magar photo
नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले भने, “सौर्य ऊर्जाले विकट गाउँमा खानेपानी व्यवस्थापन सम्भव भयो, अब यस्तो प्रविधिबाट अन्य गाउँमा व्यवस्थापन गर्न लाग्छौँ ।” खानेपानी व्यवस्थापनका लागि गाउँभन्दा ९१ मिटर तल इनार बनाई सौर्य ऊर्जाबाट लिफ्टिङ गरी दैनिक नौ हजार ८५० लिटर पानी जम्मा गरिन्छ । यसका लागि नगरपालिकाले रु पाँच लाख, सोलार (मुस) कार्यक्रमको रु पाँच लाख १५ हजार, रिमरेकको रु एक लाख ४४ हजार र समुदायको रु दुई लाख ६४ हजार जनश्रमदान तथा रु ६० हजार नगदबाट निर्माण सम्पन्न भएको हो ।

शुरुवातमा समुदायले त्यति तलको पानी माथि ल्याउन सकिन्छ भनेर कल्पना गर्न सकेका थिएनन् । इञ्जिनियर कृष्ण अधिकारीले भने, “पहिला हामीले यहाँका मानिसलाई प्रविधिबारे जानकारी र अन्य स्थानको अनुभव सुनाएपछि विश्वास गरे ।” उनका अनुसार समुदायले १५ रोपनी जमीनमा थोपा सिँचाइ प्रविधि प्रयोग गरी तरकारी खेती गर्न सक्नेछन् । खानेपानी योजनाको मर्मत–सम्भारका लागि प्रतियुनिट रु १५ कोष जम्मा गर्ने नीति बनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्