काठमाडौं क्षेत्र नं. ७ बाट चुनाव लड्दै वामदेव गौतम

Bamdev Gautam
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता वामदेव गौतमले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा चुनाव लड्ने भएका छन् । वामदेवको लागि ठाउँ खालि गर्न नेकपा सासद रामवीर मानन्धरले राजीनामाको तयारी गरेका छन् ।

२०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा वामपन्थी गठबन्धनका तर्फवाट तत्कालीन एमालेका उम्मेदवार रामवीर मानन्धर झण्डै दोव्वर मतअन्तरले विजयी भएका थिए ।

मानन्धरले १८ हजार १ सय २ भोट पाउँदा नेपाली कांग्रेसको समेत समर्थन पाएका राप्रपाका विक्रमबहादुर थापाले १० हजार ७९ मत प्राप्त गरेका थिए । विवेकशील साझाकी अनुपा श्रेष्ठले ५ हजार ३ सय ७६ मत प्राप्त गरेकी थिइन् ।

यस्तै संघीय समाजवादी फोरमका ज्ञानेन्द्र मोहन श्रैष्ठले १ हजार ७ सय १८ तथा नयाँ शक्तिका इश्वर रिजालले ७ सय २८ मत प्राप्त गरेका थिए । कमल थापा नेतृत्वको राप्रपाका उम्मेदवारलाई समर्थन गर्दै नेपाली कांग्रेसले उम्मेदवारी दिएको थिएन ।

वामपन्थीको गढ मानिने काठमाडौं ७ क्षेत्र नम्बर बाट मानन्धर लगातार दुई पटक विजयी भएका थिए । २०७० सालको संविधानसभा चुनाव र ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा मानन्धर यही क्षेत्रबाट विजयी भएका थिए । काठमाडौं ७ मा बालाजु, क्षेत्रपाटी, वनस्थली, खुसिवु, इचंगु लगायतका क्षेत्र पर्छन ।

मंगलवार बालाजुको अष्ठलक्ष्मी सिनेमा हलमा स्थानीय मतदाताहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मानन्धरले राजीनामा गर्न लागेको जानकारी गराएका थिए । उनले काठमाडौं ७ वामपन्थी गठबन्धनको क्षेत्र भएकोले वामदेवले चुनाव जित्ने बताएका थिए ।

राष्ट्रिय राजनीतिमा स्थापित नेताका लागि आफूले चुनाव क्षेत्र खाली गर्न लागेको भन्दै उनले सहयोगका लागि मतदाताहरुसँग आग्रह गरेका छन् । ‘पार्टीको आन्तरिक मूल्याङमा चुनाव जित्ने भरपर्दो आधार देखिएकोले वामदेवले यो क्षेत्र रोज्नु भएको हो’ काठमाडौं ७ का नेकपाका एक नेताले भने ।

२०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं ७ बाट तत्कालीन माओवादी केन्द्रको तर्फवाट हिसीला यमी ११ हजार मत पाएर विजयी भएकी थिइन् । हिसिलाले ११ हजार १ सय ७१ मत पाउदा एमालेका तत्कालीन उम्मेदवार राजेन्द्र श्रेष्ठले ७ हजार ९ सय भोट पाएका थिए । नेपाली कांग्रेसकी प्रमिला सिंह डंगोलले जम्मा ५ हजार ६ सय ९१ भोट पाएकी थिइन् ।

सोमवार बसेको नेपका सचिवालय बैठकमा वामदेवलाई काठमाडौं ७ बाट चुनाव उठनउने बिषयमा छलफल भएको थियो । भोलि बस्ने सचिवालयको बैठकले रामवीरको राजीनामाको औपचारिक निर्णय गर्ने छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्