पार्टीको निर्देशन आउनेबित्तिकै राजीनामा दिन्छु : सांसद मानन्धर

Rambir manandhar
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ असोज । काठमाडौं क्षेत्र नं. ७ बाट निर्वाचित नेकपाका सांसद रामवीर मानन्धरले पार्टीबाट निर्देशन आउने बित्तिकै राजीनामा दिने बताएका छन् । उनले आफू पार्टीको असल सिपाही भएका कारण पार्टीको निर्देशन आउने बित्तिकै राजीनामा दिन तयार रहेको बताएका हुन् ।

नेकपाले उनको स्थानबाट बामदेव गौतमलाई सांसद बनाउने तयारी गरिरहेको छ । सांसद मानन्धरले पार्टीकै कारण आफू यो स्थानसम्म आएको बताउँदै भविष्यमा पनि पार्टीको निर्णय मान्ने बताए । नले पार्टीको निर्णयबाटै आफूले टिकट पाएर जितेको र अहिले पनि पार्टीले मागेको दिन राजीनामा दिने बताए ।

उनले अहिलेसम्म पार्टीबाट कुनै निर्णय नभएकाले राजीनामा नदिएको स्पष्ट पारेका छन् । ‘पार्टीको बुधबार बस्ने सचिवालयको बैठकले यस विषयमा निर्णय गर्छ,’ सांसद मानन्धरले भने, ‘पार्टी निर्णय आएलगत्तै राजीनमा दिन्छु ।’ उनले काठमाडौं–७ बाट नेता गौतमले पनि जित्नेमा आफू ढुक्क रहेको बताए । गौतम सो क्षेत्रबाट हार्नुपर्ने कुनै कारण नरहेको र त्यहाँका जनताले पनि गौतमलाई जिताउने मानन्धरले बताए ।

त्यसअघि नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको भेला आयोजना गरेर मानन्धरले आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए । बालाजुको अष्टनारायण हलमा भएको भेलामा पार्टीका नेता बामदेव गौतमका लागि आफूले राजीनामा दिन लागेको मानन्धरले जानकारी गराएका हुन् । भेलामा सहभागी केही जनप्रतिनिधिले भने मानन्धरलाई राजीनामा नगर्न सुझाव पनि दिएका थिए ।

यसअघि नेता गौतम पर्यटन राज्यमन्त्री धनबहादृुर बुढालाई राजीनामा गराएर डोल्पाबाट चुनाव लड्ने योजनामा थिए । तर, बुढाले राजीनामा दिन नमानेपछि गौतम काठमाडौंबाट चुनाव उठ्न लागेका हुन् । बामदेव गत निर्वाचनमा बर्दिया क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए ।