मन्त्री पुनद्वारा विद्युत् वितरण शुभारम्भ

Barsaman pun
लाेकपाटी न्यूज
0 Shares

नेपालगञ्ज, २४ असोज । करीब दुई दशकको कठोर सङ्घर्ष र प्रयासपछि बाँके राप्तीसोनारी गाउँपालिका कुसुम क्षेत्रका बासिन्दाको बिजुली बत्ती बाल्ने सपना मंगलबार पूरा भएको छ ।

केन्द्रीय प्रसारण लाइनको कुसुमस्थित सब—स्टेशनबाट सो क्षेत्रमा विद्युत् विस्तार गरी आजदेखि स्थानीयवासीको घरघरमा विद्युत् आपूर्ति गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सब—स्टेशन विद्युत् फिडरको स्विच अन गरेर मंगलबार विद्युत् वितरणको शुभारम्भ गरे । सो अवसरमा उनले ऊर्जा र सिँचाइलाई मुलुक विकासको मूल आधार मानेर सरकारले कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

“सरकारले पाँच वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ”, मन्त्री पुनले भने, “विकास, समृद्धि र सुशासन मुख्य प्राथमिकता भएकाले सरकारबाट हुने कामप्रति कसैले आशङ्का गर्ने ठाँउ राख्नु हुँदैन ।”

कुसुम सब–स्टेशनबाट १३२÷११ केभीएको लाइनबाट कुसुम क्षेत्रमा विद्युत् विस्तार गरिएको हो । विसं २०७२ मा सक्नुपर्ने विद्युत् विस्तारको काम ठेकेदारको लापरवाहीका कारण बत्ती बाल्ने धोको पूरा हुन सकेको थिएन । ढिलै भए पनि स्थानीयवासीको बत्ती बाल्ने धोको पूरा भएकोमा प्रदेश नं. ५ प्रदेशसभा सदस्य कृष्ण केसीको भनाइ छ ।

सदस्य केसीकै पहलमा स्थानीय सरकार, प्राधिकरण र प्रदेश सरकारबीच समन्वय स्थापित गरी विद्युत विस्तारको काम दु्रतगतिमा अघि बढाइपछि काम छिटो सकिएको हो ।

नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हाललाई नौ वटा ट्रान्समिटरबाट कुसुम र आसपासका एक हजार घरधुरीले विद्युतको उपभोग गर्न पाउने छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्