किन गौरीफण्टा नाका पुगे मुख्यमन्त्री भट्ट ?

Trilochan Bhatta
लाेकपाटी न्यूज
0 Shares

धनगढी, असोज २४ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बुधबार झिसमिसे बिहानै गौरीफन्टा सीमा नाका पुगेका छन् ।

दशैं नजिकिंदै गर्दा दशैं मनाउन घर फर्कनेहरु सीमामै लुटिने गरेको सर्वसाधारणको गुनासो बढेपछि मुख्यमन्त्री भट्ट बिहानै ६ बजे गौरीफन्टा नाका पुगेका हुन् । उनले भारतबाट आएका नेपालीहरुसँग सिमामा ब्यहोर्नुपरेका समस्याका बारेमा भेटेरै कुराकानी गरेका छन् ।

गौरीफण्टा नेपालीहरु आउने मुख्य नाका भएकाले रोजगारीका लागि भारत गएकाहरु अहिले घर फर्किने क्रम बढेको छ । घर फर्कने क्रममा भारतीय सिमा सुरक्षा बल र प्रहरीबाट अनावश्यक दुःख र लुटिने गरेका छन् ।

सो बारे मुख्यमन्त्री भट्टले सिमामा आउने नेपालीले बिभिन्न झन्झट र समस्या भोग्न नपरोस भन्ने उदेश्यले गौरीफन्टा सिमा क्षेत्रमा सशस्त्र प्रहरी बल एसएसबीले थापना गरेको संयुक्त हेल्प डेस्कको बारेमा पनि जानकारी लिनु भएको छ ।

नेपालमा प्रवेश गर्दा पनि रिक्सा र अटोहरुले मनपरी भाडा लिने गरेका कारण नेपालीहरु निकै मारमा पर्ने गरेका छन् । मुख्यमन्त्री भट्टले रिक्सा र अटो चालकसंग पनि सो बारे कुराकानी गर्दै मनपरी भाडा नलिन पनि निर्देशन दिएका छन् ।

त्यसैगरी मुख्यमन्त्री भट्टले त्रिनगर प्रहरी चौकीमा भर्खरै स्थापना गरिएको मलेरिया परिक्षण उपचार तथा मरामर्श हेल्थ डेस्क र भन्सार कार्यालयको पनि निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा भन्सार कार्यालय प्रमुखलाई चोरीनिकासी र अवैध मालसामानको ओसारपसारलाई कडाईपूर्वक रोक्न निर्देशन दिए ।
दशैं मनाउन घर फर्कदैं गरेका नेपालीहरुले समस्या भोग्नु नपरोस भनी बुझ्न मुख्यमन्त्री भट्ट गौरीफन्टा नाकामा पुगेका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए ।