वामदेवलाई झलनाथले दिए यस्तो सुझाव

jhalanath khanal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले काठमाडौं ७ बाट जित सुनिश्चत भए मात्रै उपनिर्वाचनमा उम्मेदवार बन्न वामदेव गौतमलाई सुझाव दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले काठमडौं ७ का जनताले हराई दिए भने वामदेव गौतम र नेकपाको दुर्भाग्य हुने चेतावनी दिए ।

‘काठमाडौं ७ मा जनताले हराइदिए भने दुभाग्र्य हुनेछ । म विरोधी होइन । “जितको सुनिश्चित छ भने मात्रै उठ्नुस्, होइन भने नउठ्नुस्,” उनले भने, ‘जनताले हराइदिए भने वामदेवजी र नेकपाको दुर्भाग्य हुनेछ ।’

निर्वाचनमा पराजित भएका वामदेव गौतम मात्र नभइ गोरखाबाट पराजित नारायणकाजी श्रेष्ठलाई पनि संसदमा ल्याउनु पर्ने उनले बताए ।
उनले भने, ‘वामदेवजीको मात्रै होइन अर्का पराजित नेता नारायणकाजी श्रेष्ठजी पनि पार्टीलाई आवश्यक्ता छ । अरु पराजित नेताहरूलाई पनि संसदमा ल्याइनुपर्छ ।’

काठमाडौं ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरको पत्र सचिवालयमा पत्र प्राप्त भएको बताएका वरिष्ठ नेता खनालले भने, ‘रामवीर मानन्धरले सांसद पदबाट मैले राजीनामा दिए भन्ने पत्र आएको छ । स्वीकृत भएको छैन । पार्टीमा छलफल गरेर टुंग्याउने छौँ । राजीनामा स्वीकृत हुने प्रक्रिया छ । पार्टीले कुनै पनि निर्णय गरेको छैन ।’

काठमाडौं ७ का सांसद रामवीर मानन्धरले वामदेव गौतमका लागि आफूले राजीनामा दिन लागेको बताए । ‘पार्टीको निर्णयबाट मैले वामदेव गौतमज्यूलाई राजीनामा दिन लागेको हुँ’, उनले भने, ‘मेरो कुनै स्वार्थ छैन । काठमाडौं क्षेत्र नं. ७ को विकासका लागि वामदेव गौतमलाई निर्वाचनमा उम्मेदवार बनाउन लागिएको छ ।’