कस्तो छ खानेपानी मन्त्री मगरले निरीक्षण गरेको वाटर एटिएम् ?

Bina Magar Water ATM
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २५ असोज । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक वाटर एटीएमको नमुना सार्वजनिक गरिएको छ ।

खानेपानी मन्त्री बीना मगरको प्रमुख आतिथ्यमा बिहीबार आयोजना गरिएको वाटर एटीएमको नमुना सार्वजनिकीकरण कार्यक्रममा खानेपानी मन्त्री मगरले एटीएमको निरीक्षण गरेकी थिइन् ।

एटीएमबाट पानी झारेर उनले पानी पिएकी थिइन् । यस्तो प्रविधि नेपालमै पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले जानकारी दिए ।

ललितपुरको सैंबु, भैंसेपाटीस्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिएको थियो । वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ । निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाईने अवधारणा स्वरुप वाटर एटीएमको सुरुवात गरिएको हो ।
उक्त एटीएमबाट २ सय मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाईने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैंया र एक लिटर पानीको मूल्य १० रुपैंया राखिएको छ ।

उक्त एटीएममा दुई रुपैंयाको क्वाईन हाले पछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाईने व्यवस्था गरिएको छ ।

यस्तो खालको वाटर एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यका भित्र विस्तार गर्दै लगिने बोर्डका कार्यकारी निर्देशक राणाले बताइन् ।

उनले काठमाडौं उपत्यकामा मान्छेको चाप बढी भएको ठाउँहरुमा पहिलो चरणमा वाटर एटीएम राख्दै लगिने जानकारी दिए । यो वर्षभित्र २० वटा वाटर एटीएम राखिने बोर्डको भनाई छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्