लाखौंको सङ्ख्यामा उपत्यकाबाट यात्रु बाहिरिंदै

Passengers for Dashain
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ असोज । दशैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् ।

उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार असोज २३ गते घटस्थापनाका दिन एक लाख ३० हजार, असोज २४ गते एक लाख ४४ हजार र असोज २५ गते एक लाख १० हजार यात्रु बाहिरिएका छन् । “दशैं लागेसँगै नीजि सवारी साधनदेखि सार्वजनिक सवारीसाधनमा यात्रु बाहिरिने गरेका छन्”, उनले भने ।

असोज २३ गते १२ हजार ६५५, असोज २४ गते १३ हजार ५५१ र असोज २५ मा १३ हजार १४७ सवारीसाधन उपत्यकाबाट बाहिरिएका थिए । बिहीबारसम्म एक लाख ३२ हजार व्यक्तिले टिकट बुकिङ गरेका छन् ।

महाशाखाले दशैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उपत्यकाको कलङ्की, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्