काठमाडौँमा ४० वटा मिटमार्ट निर्माण गर्छौंः मन्त्री खनाल

chakrapani khanal22
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, असोज । कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले काठमाडौँमा जनघनत्व बढेसँगै सर्वसाधारण जनताले बढी उपभोग गर्ने दूध, पानी, तेल तथा मासुमा सरकारले नियमित नियमन गर्न नसकेको बताएका छन् ।

रिपोर्टस क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा उनले भने, “चाडबाडमा एक महिना जति नियमन हुने र त्यसपछि क्रमशः हराएर जाने प्रवृत्ति छ, यस्तो प्रवृतिलाई अन्त्य गरी अब वर्षभरि नै नियमन गर्ने प्रक्रिया ल्याइनेछ ।”

मन्त्री खनालले स्वस्थ मासुको व्यवस्थापनका लागि हेटौँडास्थित दैनिक २०० राँगो काट्ने क्षमता भएको बधशालाको उपयोगमा ल्याउने बताउँदै काठमाडौँ उपत्यकामा ४० वटा मिटमार्ट निर्माण गर्ने योजना सरकारले बनाइरहेको जानकारी दिए ।

हाल काठमाडौँमा दैनिक ४०० राँगा काट्ने गरिएको उल्लेख गर्दै बधशालामा सर्वसाधारण जनता तथा उपभोक्ताको पहुँच नभएकाले ती मासु स्वस्थकर नहुने बताए ।

यसको तुलनामा खसी, बोका तथा भेडा काट्ने ठाउँमा उपभोक्ताको उपस्थित भएकाले मिटमार्टले जथाभावी गर्ने सम्भावना कम रहेको मन्त्री खनालको भनाइ छ ।

उनले फोहर तथा अव्यवस्थित बधशालाका कारण राँगा काट्ने चार वटा बधशाला बन्द गरेको र पानीका २२ उद्योगमा तालाबन्दी गरेको जानकारी दिँदै नियमित अनुगमनका कारण ९३ पानी उद्योगमा सुधार आएको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्