नेपालबाट गरीबी र बेरोजगारी अन्त्य हुन्छ : श्रममन्त्री बिष्ट

gokarna-bista
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार गरीबी, अभाव र बेरोजगारीबाट देशलाई मुक्त गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको बताएका छन् ।

बडादशैं, तिहार, छठ तथा नेपाल संवत्का अवसरमा आज मन्त्रालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपालीको श्रम र सीप नेपालकै विकासमा प्रयोग गरी समृद्ध नेपाल निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

मन्त्री विष्टले मुलुकमा पर्याप्त रोजगारीका अभावमा घर परिवार र मातृभूमिबाट टाढा परदेशी भूमिमा रहेका लाखौं नेपाली रगत र पसिना बगाउँदै अत्यन्त जोखिमपूर्ण काम गर्नुपरेको स्मरणसमेत गरे ।

उनले भने, “दशैँमा आफ्नो घर आउने चाहना हुँदाहुँदै पनि कयौँ युवा घर फर्कन सक्नुभएको छैन । सरकार विदेशी भूमिमा नेपाली युवाले गरेको मेहनतलाई सम्मान गर्दछ । तपाईहरु स्वदेश फर्कदा जन्मभूमिमै श्रम गरी सम्मानजनक जीवनयापन गर्न पाउने गरी रोजगारीका अवसर वृद्धि गर्न सरकार क्रियाशील छ ।”

सबैले देश निर्माणमा योगदान गर्नुपर्ने बेला आएको बताउँदै उनले मरभूमिलाई हरियालीमा परिणत गर्ने पौरखी नेपाली हातले नेपाल बदल्न सक्ने विश्वास व्यक्त गरे । पारिवारिक पुनर्मिलनको दृष्टिले दशैँ निकै महत्वको चाड भएको उल्लेख गर्दै बिष्टले नेपालका चाडपर्वले सबै नेपालीलाई एकताबद्ध बनाउन सहयोग पु-याउने बताए ।

श्रमिक र सामाजिक न्यायको पक्षमा सञ्चारकर्मीले जनपक्षीय भूमिका निर्वाह गरेको बताउँदै मन्त्री विष्टले सञ्चारकर्मीले श्रमिकका पक्षमा निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए ।