पूर्व राजाको श्रीपेच प्रदर्शनीमा, कस्तो छ नयाँ व्यवस्था ?

sripech 1
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २७ असोज । बन्द दराजभित्र राखिएको श्रीपेच सर्वसाधारणका लागि खुला गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सोमबार बुलेटपु्रफ सिसाभित्र राखिएको श्रीपेचको पहिलो अवलोकन गर्ने भएका छन् ।

नारायणहिटी दरबारलाई संग्रहालय बनाइएको एक दशकपछि श्रीपेच खुला गर्न लागिएको हो। संग्रहालयले श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाउने मुकुट (टायरा), एउटा झारी, दुईवटा चमरसहितका एक दर्जन सामग्री बुलेटप्रुफ शोकेसभित्र राखिने भएको छ।

संग्रहालयको सुर्खेत र रूपन्देही कक्षमा ती सामग्री राख्न लागिएको हो। पूर्वराजाले नारायणहिटी दरबार छाडेपछि श्रीपेचलगायतका सामग्री २०६५ साल जेठ २९ गते शैलुनमा राखिएको थियो।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा श्रीपेच अवलोकन गर्न गठित समितिले शुक्रबार सुरक्षाको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएपछि फूलपातीको अघिल्लो दिनदेखि श्रीपेच प्रदर्शनीका लागि खुला गर्ने निर्णय गरिएको हो।

श्रीपेच राख्ने स्थानको अवलोकन गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उच्च अधिकारीको टोली शुक्रबार नारायणहिटी पुगेको थियो। टोलीले सुरक्षाको सबै अवस्थाबारे जानकारी लिएको थियो।

बुलेटपु्रफ सिसाको अवस्थाबारे जानकारी लिएको टोलीले श्रीपेच सर्वसाधारणका लागि खुला गर्न स्वीकृति दिएको थियो। सुरक्षा निकायका प्रतिनिधिले श्रीपेचको सुरक्षाको चुनौतीबारे छलफल गरेका थिए। श्रीपेच राख्ने निर्णयसँगै शुक्रबारदेखि नारायणहिटी संग्रहालयका कर्मचारी शोकेस राखेको कोठा सफा गर्न व्यस्त देखिएका थिए।

नारायणहिटी संग्रहालय विकास समितिले धमाधम रङरोगन गर्न शुरू गरेको छ। सुरक्षा निकायले सुरक्षाको बन्दोबस्त मिलाइसकेको छ। यसअघि समितिले अधिकांश सुरक्षा योजनाको विषयमा नेपाली सेनासँग सल्लाह गरेको थियो।

‘बाहिरी सुरक्षा नेपाल प्रहरीले गर्नेछ।’ –समितिका संयोजक एवं पुरातत्व विभागका महानिर्देशक दाहालले भने। श्रीपेचलगायतका सामग्री अवलोकनमा सहयोग गर्न संग्रहालयका कर्मचारी खटिने भएका छन्। संग्रहालयका करिब देढ दर्जन कर्मचारी अहिले उक्त कामका लागि खटिएका छन्। समितिका संयोजक दाहालले २९ गते श्रीपेच खुला गर्न सबै तयारी पूरा भइसकेको जानकारी दिए

सरकारले तीन महिनाभित्र श्रीपेच प्रदर्शनीमा राख्ने योजना बनाएपछि समिति तातेको थियो। सरकार र तिनै सुरक्षा निकायको सहमतिपछि श्रीपेच प्रदर्शनीमा राख्ने निर्णय भएको हो। उनले भने– ‘संस्कृति मन्त्रालय र सुरक्षा निकायबाट सम्पूर्ण सुरक्षा जाँच भइसकेको छ अब श्रीपेचलगायतका सामग्री बुलेटपु्रफ सिसाभित्र राख्नेछौं।’

समितिले २९ गते बिहान सबै सामग्री बुलेटप्रुफ शोकेसभित्र राख्ने भएको छ। प्रम ओलीले सो दिन बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। समितिले करिब एक महिना लगाएर सुरक्षा प्रणालीभित्रको इलेक्ट्रोनिक सुरक्षा प्रणाली सुदृढ गरेको हो।

वि.सं. २०६९ सालमा करिब १ करोड ५० लाख रुपियाँमा जडान गरिएको सीसीटीभीलगायतका सुुरक्षा यन्त्रमा खराबी देखिएपछि त्यसलाई मर्मत गरिएको छ। समितिले हाइटेक सुरक्षा प्रविधि अपनाएको छ। श्रीपेचलगायत सामग्री राख्ने स्थान वरपर चार दर्जनभन्दा बढी सीसीटीभी क्यामरा जडान गरिएको छ ।

तीनवटै सुरक्षा निकायले श्रीपेचको सुरक्षा अवस्थाबारे चौबीसै घण्टा अवलोकन गर्ने भएको छ। अत्याधुनिक सुरक्षा प्रणालीअन्तर्गत अधिकांश गतिविधि नियन्त्रण गर्न रिमोट कन्ट्रोलको व्यवस्था हुने भएको छ। यदि कसैले सुरक्षा संवेदनशीलता बेगर मनपरी गर्न खोजे त्यसलाई नियन्त्रण गर्न अलार्म सिस्टम जडान गरिएको छ।

विदेशमा जस्तै अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको छ। सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै रे लाइट सुरक्षा प्रणाली अपनाइएको छ। अवलोकनकर्ताले सुरक्षाका लागि जडान गरिएको रे लाइट नाघेर गएमा स्वचालित रूपमा अलार्म बज्नेछ।

वि.सं. २०७१ सालमा श्रीपेचको अवस्थाबारे जानकारी लिइएपछि हालसम्म कस्तो अवस्थामा रहेको छ भन्ने विषय कसैलाई जानकारी दिइएको छैन। हाल श्रीपेच सेनाको कडा सुरक्षा घेराभित्र स्टिलको दराजभित्र राखिएको छ।

पूर्वराजा ज्ञानेन्द्रले २०६५ साल जेठ २९ गते नारायणहिटी छाडेपछि श्रीपेचलगायत महत्वपूर्ण सामग्री कडा सुरक्षा घेराभित्र राखिएको थियो। ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नुअघि हाम्रा पितापुर्खाको विरासतका रूपमा रहेको श्रीपेचलाई सदाका लागि जोगाएर राख्न देशबासीको नाममा सम्बोधन गर्नुभएको थियो। पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाडेको एक दशकपछि सर्वसाधारणका लागि श्रीपेच खुला गरिएको छ।

ल्याटिन अमेरिकाको एक दुर्लभ चराको प्वाँखको कल्कीबाट बनेको श्रीपेचमा सुन, चाँदी, हीरा, मोती, पन्नाजडित दुर्लभ र बहुमल्य सामग्रीको प्रयोग गरिएको छ। नेपाल समाचार पत्रबाट ।