कहिले हुन्छन् एसपी बिष्ट बर्खास्त ?

Dilliraj Bista
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २८ असोज । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाई महिना बित्दासमेत प्रहरीले अभियुक्त पत्ता लगाउन सकेको छैन । अनुसन्धानका निम्ति प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोका दुईवटा टोली खटिएका छन् ।

अधिकांश प्रमाण नष्ट भइसकेका कारण घटनाबारे नयाँ तथ्य खुल्नेमा उच्च प्रहरी अधिकारी विश्वस्त छैनन् । गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले अनुसन्धानमा भएका बग्रेल्ती त्रुटि बाहिर ल्याए पनि अभियुक्त पत्ता लगाउने कुनै नयाँ तथ्य फेला पार्न सकेन ।

प्रहरी स्रोतका अनुसार कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोराले ओपेरा होटलमा गरेको पार्टी शंकाको घेरामा छ । तर त्यसबाट कुनै नयाँ तथ्य बाहिर आउन सकेको छैन । होटलको त्यो दिनको सीसीटीभी फुटेज सबै मेटिइसकेको छ ।

जिल्ला प्रहरी कार्यालयले फुटेज रिस्टोर गर्न प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो । तर मेटिएको फुटेज रिस्टोर गर्न नसकिने निष्कर्षमा ल्याब पुगेको छ ।
निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको डीएनएमाथि प्रश्न उठे पनि बाँकी स्याम्पल नरहेका पुनः परीक्षण सम्भव छैन ।

एक उच्च प्रहरी अधिकारीका अनुसार अभियुक्त पत्ता लाग्नेभन्दा अनुसन्धानको त्रुटि खोज्ने काम मात्रै भइरहेको छ । प्रहरी प्रधान कार्यालयले घटनाको गम्भीर अनुसन्धान नगरेको, प्रमाण जोगाएर नराखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी विष्टलाई बर्खास्त गर्ने तयारी गरिरहेको जानकारी स्रोतले दिएको छ ।

प्रमाण नष्ट गरेको अभियोगमा विष्टमाथि के–कस्तो कानूनी कार्वाही गर्न सकिन्छ भन्नेबारे प्रहरीको कानुन विभागले अध्ययन गरिरहेको जनाइएको छ । गृहले गठन गरेको उच्चस्तरीय समितिले विष्टलाई कार्वाही सिफारिस गरेको थियो । एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको प्रतिवेदन आएपछि उनीमाथि कार्वाही गर्ने तयारी प्रधान कार्यालयको छ ।
बस्नेत नेतृत्वको समितिले घटनामा संलग्न प्रहरी अधिकारीको बयान लिने र कल डिटेल अध्ययन गर्ने काम सकिसकेको छ ।

एआईजी बस्नेत शुक्रबार घटनाबारे थप अध्ययन गर्न एसएसपी नीरज शाही, डीएसपीहरू दधिराम न्यौपाने र सन्तोष आचार्यसहित कञ्चनपुर पुगेका थिए ।

स्रोतका अनुसार टोलीले अन्तिम प्रतिवेदन तयार पार्नुअघि स्थलगत अध्ययन गर्ने, गृह मन्त्रालयको समितिले तयार पारेको अनुसन्धानमा देखिएका केही नयाँ तथ्यबारे थप बुझ्नेछ ।
प्रहरी प्रवक्ता शैलेश थापाले गृहले गठन गरेको उच्चस्तरीय समितिले दिएको प्रतिवेदनलाई आधार लिएर प्रहरी प्रधान कार्यालयको समितिले अनुसन्धान अगाडि बढाइरहेको बताए । ‘अनुसन्धानमा त्रुटि गर्नेलाई कार्वाही गर्नुपर्छ भन्नेमा हामी छौं,’ उनले भने, ‘एआईजी बस्नेत नेतृत्वको समितिले प्रतिवेदन बुझाएपछि कार्वाही प्रक्रिया अगाडि बढ्छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्